जोरथाङ (निसं) : सिक्किमको जोरथाङमा आज बिहान मर्निङ वकमा निस्किएका एकजना युवकको अचानक मृत्यु भएको छ। युवकको दक्षिण सिक्किमको कर्फेकटारमा मृत्यु भएको छ भने मृतक 20 वर्षीय नोर्जाङ लेप्चाको रूपमा पहिचान गरिएको छ। तिनी हाल जोरथाङ माझीगाउँमा बस्दै आइरहे तापनि मूल रूपले देन्ताम निवासी थिए। प्राप्त जानकारी अनुसार मृतक लेप्चा जोरथाङको एउटा दोकानमा काम गर्थे। तिनको हृदयाघातको कारण मृत्यु भएको आशंका गरिएको छ। मृतक युवक दैनिक रूपमा नै बिहान रोडमा मर्निङवकको निम्ति निस्किने गरेको प्रत्यक्षदर्शीहरुको भनाई रहेको छ। अर्कोतिर, पुलिसले शवलाई उद्धार गरेर पोस्टमर्टमको लागि अस्पताल पठाइदिनको साथै घटनाको जाँच शुरू गरेको बताइएको छ।