चियाश्रमिक संगठनहरूले डाकेको 12 घण्टा बन्द विभिन्न ठाउँहरूमा शान्तिपूर्वक पालन

दार्जिलिङ : 20 प्रतिशतको दरले चियाश्रमिकहरूलाई दशैँको बोनस दिनुपर्ने माग लिएर जोइन्ट फोरमले आज डाकेको 12 घण्टा बन्द अवधि दार्जिलिङ सहरलगायत यसको संलग्न सबै चियाकमानहरूमा बन्द शान्तिपूर्ण ढङ्गले सम्पन्न भइरहेको छ। दार्जिलिङ सहरमा चियाश्रमिकहरूको आन्दोलनलाई सहयोग पुर्‍याउँदै सम्पूर्ण दोकानपाट तथा वाहनहरूको चलाचल पूर्ण रूपले बिहानैदेखि ठप्प रहेको छ। यसबाहेक केही सरकारी वाहनलगायत अति आवश्यक वाहनहरूलाई मात्र बन्दबाट छुट दिएको छ। चियाश्रमिक संगठनहरूले आज बिहान 4 बजीदेखि अपरान्ह 4 बजीसम्म बन्दको आहवान गर्दै विभिन्न ठाउँहरूमा रिले अनशन तथा गेट मीटिङहरू गरिरहेको छ।


कालेबुङ :  चियाश्रमिकहरूलाई पुजा बोनस 20 प्रतिशतले दिनुपर्ने माग गर्दै चियाश्रमिकहरूको संयुक्त संगठनले आज डाकेको 12 घण्टा बन्दको यता कालेबुङ सहरमा पनि व्यापक प्रभाव परेको देखियो। आज बिहानैदेखि कालेबुङ सहरमा सम्पूर्ण दोकानपाट पूर्ण रूपले बन्द रहेको देखियो। यसको साथै सहरमा आवश्यक वाहनहरूबाहेक अन्य कुनै पनि गाडी घोड़ाहरूको चलाचल देखिएन। दशैँको मुखैमा बन्दले गर्दा विशेष गरेर आआफ्नो घरतिर दशैँ मनाउन जाने तथा स्कुल-कलेजको आजदेखि विदा भएपछि तिनीहरूलाई आआफ्नो घर जानको निम्ति निक्कै असुविधा परेको देखियो। स्मरण रहोस्, दार्जिलिङ पहाड समतलको चियाकमानमा कार्यरत श्रमिकहरूलाई यसपल्टको पूजा बोनस 20 प्रतिशतको दरले दिनुपर्ने बारे श्रमिक संगठनले मालिकपक्षसँग एकाधिकपल्ट दार्जिलिङ तथा कलकत्तामा समेत बैठक गर्दा पनि मालिकपक्षले 20 प्रतिशत दरले बोनस दिन अस्वीकार गरेपछि श्रमिक संगठनहरू आफ्नो मागमा अडिग रहेकोले गर्दा नै बैठक असफल बनेको थियो। यसपछि हिजोदेखि विभिन्न श्रमिक संगठनका नेताहरूले संयुक्त रूपमा दार्जिलिङ सहरमा रिले अनशन शुरू गरेका छन् भने पहाडका प्रायःजसो सबै चियाकमानहरूमा पनि 20 प्रतिशतको दरले बोनस दिनुपर्ने माग गर्दै गेट मीटिङ तथा रिले अनशनमा बसेका छन्। दशैँ अघि पुजा बोनस हालसम्म नपाएपछि दार्जिलिङ पहाड समतलका लगभग 80 हजार श्रमिकहरूको परिवारहरू असुविधामा परेका छन्।  


खरसाङ :  चियाश्रमिकहरूलाई 20 प्रतिशतको दरले पुजा बोनस दिनुपर्ने माग लिएर डाकेको 12 घण्टा बन्दलाई गोरामुमो खरसाङ शाखा अनि गोरामुमो सोनादा टुङ्ग समष्टिले पनि पूर्ण रूपमा समर्थन जनाउँदै हालसम्म शान्तिपूर्ण ढङ्गमा बन्द पालन गरिरहेको छ। गोरामुमो खरसाङ शाखा भुपेन गुरुङले पत्रकारहरूलाई सम्बोधन गर्दै सम्पूर्ण व्यापारी दाज्यु-भाई, चालक दाज्यु-भाईहरूलाई धन्यवाद दिँदै जबसम्म श्रमिकहरूले न्याय पाउँदैन तबसम्म गोरामुमो लागि पर्ने जानकारी दिएका छन्।

मङ्पु : चियाकमानमा कार्यरत् श्रमिकहरूलाई 20 प्रतिशतको दरले बोनस दिनुपर्ने मागमा दार्जिलिङका सबै श्रमिक संगठनहरूले संयुक्त रूपमा डाकेको 12 घन्टा पहाड बन्द अवधि मङपु क्षेत्रमा पनि पूर्ण रूपले बन्द रहेको छ।  आज बन्द अवधी यहाँको नालीडाँडा मङपु युवा मोर्चाका कार्यकर्ताहरूले पिकेटिङ गरिरहेका छन। युवा मोर्चा खरसाङ महकुमा समिति सचिव बिज्ञान मिश्र, मङपु मोर्चा युनियन प्रवक्ता निरेश शेर्पालगायत पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.