दार्जिलिङलगायत विभिन्न ठाउँहरूमा शहीद दिवस पालन

अलग राज्य गोर्खाल्याण्डको मागमा गरिएको आन्दोलनकाल अवधि हालसम्म प्राण गुमाउनेहरूको स्मरणमा प्रत्येक वर्ष 27 जुलाईको दिन पालन गर्दै आइरहेको शहीद दिवस यस वर्ष पनि दार्जिलिङ सहरलगायत खरसाङ, मिरिक तथा कालेबुङ जिल्लाका विभिन्न ठाउँहरूमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको आयोजनामा शनिबार सम्पन्न गरियो। यस अवसरमा अलग राज्यको मागमा आफ्नो बहुमूल्य जीवन गुमाउनेहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नको साथै तिनीहरूको स्मरणमा विभिन्न ठाउँहरूमा निर्माण गरिएको शहीद वेदीहरूमा गएर फुलमाला चढाए।


दार्जिलिङबाट हाम्रा संवाददाताले दिएको जानकारीअनुसार गोरामुमो दार्जिलिङ महकुमा समितिको आयोजनामा शनिबार 27 जुलाईको दिन यहाँको सुमेरू मञ्चमा भव्य रूपमा शहीद दिवस पालन गरियो। यस अवसरमा गोरामुमो-का केन्द्रीय शीर्ष नेताहरूले आफ्नो सम्बोधनमा शहीदहरूको त्याग र बलिदान त्यसै खेरो नजाने दावी गर्दै एकदिन अवश्यै अलग राज्य गठन हुने दावी गरे। गोरामुमोले नै पहाडमा सर्वप्रथम गोर्खाल्याण्डको आन्दोलन शुरू गरेको स्मरण गराउँदै गोरामुमोकै उचित मार्गदर्शऩमा यसको गठन हुने पनि तिनीहरूले बताए। यसको साथै वक्ताहरूले चाँडोभन्दा चाँडो जीटीए विघटन गरेर दार्जिलिङ पहाडको निम्ति स्थायी राजनैतिक समाधान निकाल्नुपर्ने पनि माग गरे। यसबाहेक गत दुई महिनाको छोटो अवधिमा नै दार्जिलिङका सांसद राजु विष्टले गरेको विविध कार्यहरूको प्रशंसा गर्दै तिनले पहाड-समतल क्षेत्रको निम्ति भविष्यमा अझ धेरै कार्यहरू गरेर लैजाने दावी गरे। दार्जिलिङको सुमेरू मञ्चमा सम्पन्न शहीद दिवस कार्यक्रममा गोरामुमोको केन्द्रीय शीर्ष नेताहरूलगायत धेरै संख्यामा पार्टी समर्थकहरूको उपस्थिति रहेको थियो।


यसैगरी, यता खरसाङ सहरलगायत यसका विभिन्न ठाउँहरूमा पनि शहीदहरूलाई स्मरण गर्दै तिनीहरूको शहीद वेदीमा फुलमाला चढाए। गोरामुमो पङ्खाबारी गिद्धे पहाड समष्टिद्वारा पनि शहीद दिवस पालन गरियो। अर्कोतिर, सोनादा गोरामुमोको आयोजनामा पनि यहाँको टासी भुटियाको शहीद वेदीमा फुलमाला चढाउनको साथै तिनलाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरियो। गोरामुमो सूत्रले दिएको जानकारीअनुसार प्रशासनले यहाँ शहीद दिवस पालन गर्ने अनुमति नदिएकोले गर्दा नै सोनादामा सामान्य रूपले शहीद दिवस पालन गरियो। यसबाहेक कालेबुङ जिल्लाको विभिन्न ठाउँहरूमा पनि गोरामुमोको आयोजनामा शहीद दिवस पालन गरियो।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.