दार्जिलिङ नर्सिङ स्कुलमा भर्ना बन्द, सहरमा पोस्टरिङ

दार्जिलिङ : दार्जिलिङमा रहेको नर्सिङ प्रशिक्षणमा पहाडका स्थानीय विद्यार्थीहरूले भर्ना नपाएपछि यसलाई लिएर विवाद देखापरेको छ। यसलाई लिएर भर्ना नपाउने विद्यार्थीहरूबाहेक विभिन्न स्थानीय संघ-संगठनहरूको विरोधपछि राजनैतिक दलहरूले पनि स्थानीय विद्यार्थीहरूलाई मौका दिनुपर्ने माग शुरू भएको छ। दार्जिलिङ हिलको नर्सिङ कोटामा पहाडको विद्यार्थीहरूले नै भर्ना पाउनुपर्छ भन्दै गोरामुमो जनचेतना संघर्ष समितिले विरोध जनाएको थियो। यसै विरोधको फलस्वरूप हिल नर्सिङको भर्ना बन्द गरेको छ। दार्जिलिङको चोक बजारमा यसबारे पोस्टरिङ गर्दै समितिका प्रतिनिधि टोलीले नर्सिङ स्कुलमा विरोध प्रदर्शन भएपछि नै हाल भर्ना बन्द गरेको बताइएको छ। अर्कोतिर, उक्त दार्जिलिङ नर्सिङ ट्रेनिङ स्कुलमा स्थानीय विद्यार्थीहरूले भर्ना नपाएको समस्यालाई लिएर कालेबुङका माकपा नेता तारा सुन्दासले पनि आवाज उठाएका छन्। पहाडमा राजनीतिको कारणले गर्दा नै पहाडको लागि रहेको आरक्षणमा समेत स्थानीय विद्यार्थीहरूले भर्ना नपाएर बाहिरकाहरूले मात्र भर्ना पाएकोमा आक्रोश व्यक्त गर्दै स्थानीयहरूलाई भर्नामा प्राथमिकता दिनुपर्ने बताएका छन्।


स्मरण रहोस्, दार्जिलिङको नर्सिङ ट्रेनिङ स्कुलमा स्थानीय विद्यार्थीहरूलाई भर्ना नदिएर बाहिरबाट आएका विद्यार्थीहरूलाई मात्रै भर्ना लिइरहेको अभियोग लगाउँदै व्यापक मात्रामा दार्जिलिङ सहरमा पोस्टरिङ गरिएको छ। जीएनएलएफ-को जनचेतना संघर्ष समितिद्वारा दार्जिलिङको चोक बजारमा टाँसिएको पोस्टरहरूमा बाहिरको विद्यार्थीहरूले दार्जिलिङ नर्सिङ ट्रेनिङ स्कुलमा तबसम्म भर्ना लिन पाउनेछैन जबसम्म यसको सटीक जवाफ पाउँदैनौँ भनी उल्लेख गरिएको छ। यसको साथै नर्सिङ ट्रेनिङ स्कुलमा स्थानीयहरूलाई भर्ना नलिएर अन्याय-अत्याचार भइरहेको समय अन्य पार्टीहरू किन चुप छ भन्दै प्रश्न गरिएको छ। उक्त पोस्टरिङपछि यसलाई लिएर जनचेतना संघर्ष समितिले एउटा ज्ञापन पत्र पनि चढाएको छ। प्राप्त जानकारीअनुसार सीएमओएस-ले फोनमार्फत् ट्रेनिङ स्कुलमा यो सालको भर्ना रोक्न नमिल्ने कुरा गरे तापनि संघर्ष समिति आफ्नो मागमा अडिग रहेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.