सिलगढी (निसं): दिल्ली पब्लिक स्कूल (डीपीएस) फुलबारीले आदिकवि भानुभक्त आचार्यको 209औं जन्मजयन्ती आज हर्षोल्लाससहित मनायो। स्कूलकी प्रधानाचार्य मनोवारा बी अहमदले दीप प्रज्ज्वलन साथै आदिकवि भानुभक्त आचार्यको प्रतिकृतिमा माल्यार्पण र पुष्पार्पण गरेपछि कार्यक्रम शुरु गरियो। विद्यार्थी वैभवी पाण्डे र फामिदा उज्मा इनामद्वारा सञ्चालित कार्यक्रममा सफलता राई र सत्तकी दासले नेपाली अनि अङ्ग्रेजी भाषामा भानुभक्त आचार्यको संक्षिप्त परिचय प्रस्तुत गरे। चौथोदेखि बाह्रौं श्रेणीसम्मका विद्यार्थीहरूले भानुभक्त आचार्यलाई समर्पित गर्दै भावपूर्ण तथा सुमधुर गीत प्रस्तुत गरे। विद्यार्थीहरूले खुबै सुन्दर ढङ्गमा भानुभक्त आचार्यद्वारा लिखित घाँसी कविता वाचनसँगै त्यसमा भानुभक्त र घाँसीका रूपमा अभिनय गरे। कार्यक्रमलाई रमाइलो बनाउँदै विद्यार्थीहरू नेपाली लोकगीतमा नाँचे।
यसरी नै विद्यार्थीहरूले भानुभक्तीय रामायणको श्रीबालकाण्ड र श्रीअयोध्याकाण्डबाट भावात्मक र लयात्मक शैलीमा केही श्लोकहरू गाए। रामायण पाठ गर्दा ससाना बाल-बालिकाहरूले राम, सीता, लक्ष्मण, भरत र हनुमानका रूपमा अभिनय गरेर सबैको मन जिते। कार्यक्रममा साना-ठूला सबै विद्यार्थीहरूले सक्रियतासित भाग लिएका थिए। भानु जयन्ती कार्यक्रममा स्कूलकी शैक्षिक संयोजिका मधुमिता रोय, डली दास, सूचिता योञ्जन ट्याटर, जयता दास, सुरभी तिवारी, यसरी नै शैक्षिक संयोजकमा अरिन्दम सेनगुप्त, अनुज डन, धृतिमान विश्वास, आकाश छेत्रीको पनि विशेष उपस्थिति रहेको थियो।कार्यक्रममा विद्यार्थीहरूलाई सम्बोधन गर्दै स्कूलकी प्रधानाचार्य मनोवारा बी अहमदले घाँसीबाट प्रेरित भानुभक्तले नेपाली भाषा, साहित्य र समाजप्रति दिएको योगदानबारे बताउँदै हामी मानिस भएकाले हामीमा भानुभक्तमा झैं लोक कल्याणको भावना हुन आवश्यक रहेको कुरामा विशेष जोर दिइन्। अन्तमा राष्ट्रगीत गाएर कार्यक्रम समापन गरियो।