दार्जिलिङ: गोजमुमो संस्थापक अध्यक्ष बिमल गुरुङको मुख्य पहलमा आज एउटा कार्यक्रमबीच कोरोना महामारीको समयमा आफू लगायत परिवारको पर्वाह नगरी निरन्तर रूपमा समाजसेवामा लागिपरेका सबै पत्रकारहरूलाई सम्मान जनाइयो। यस अवसरमा पत्रकारहरूलाई सल ओढाएर, स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइयो। गोजमुमो पार्टी कार्यालय सिंहमारीमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी, नारी मोर्चा अध्यक्ष आशा गुरुङ, दार्जिलिङ महकुमा अध्यक्ष पीटी ओला, युवा मोर्चा प्रमुख प्रकाश गुरुङ लगायत दार्जिलिङ प्रेस गिल्डका सभापति रबीन राई साथै प्रेससित आबद्ध रहेका इलेक्ट्रोनिक तथा सोसियल मीडियामा कार्यरत पत्रकारहरू उपस्थित थिए।
पीटी ओलाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको शुरूमा पत्रकार रबीन गिरी तथा देव खम्बुको तस्विरमा माल्यार्पण गरियो। यस अवसरमा बिमल गुरूङले पत्रकारहरूले पुर्याएको योगदानले नै समाजमा परिवर्तन हुने बताए। कार्यक्रममा दार्जिलिङ प्रेस गिल्डलाई पार्टीको पक्षबाट आर्थिक पचास हजारको सहयोग पुर्याउने घोषण गरियो।