ग्रिफिथ्स स्कुलका प्रधान अध्यापक भीम प्रधान शिक्षा रत्न पुरस्कार 2019-को निम्ति चयन

दार्जिलिङ : दार्जिलिङ जिल्लाको ग्रिफिथ्स उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यापक भीम प्रधानलाई शिक्षा रत्न पुरस्कार 2019-द्वारा सम्मानित गरिने भएको छ। पश्चिम बंगालको शिक्षा विभागद्वारा प्रेसित एउटा पत्र संख्या 312/(40)-SC/HS –मार्फत् दिएको जानकारीअनुसार राज्य सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने शिक्षा रत्न पुरस्कार 2019-को निम्ति दार्जिलिङ जिल्लाबाट प्राध्यापक भीम प्रधानलाई चयन गरिएको छ। उक्त पुरस्कार आगामी 5 सेप्टेम्बर 2019-को दिन राज्य स्तरीय रूपमा पालन गरिने शिक्षक दिवसको अवसरमा नेताजी इन्डोर स्टेडियम कलकत्तामा सम्पन्न हुने कार्यक्रममा सो पुरस्कार पश्चिम बंगालका मुख्यमन्त्री तथा शिक्षा मन्त्रीको बाहुलीबाट तिनलाई प्रदान गरिने बताइएको छ।


स्मरण रहोस्, विगत 1990 देखि 2007 सम्म ग्रिफिथ्स उच्चतर माध्यमिक विद्यालयमा तिनी सह-शिक्षकको रूपमा थिए भने यसपछि आज पर्यन्त तिनले प्रधान अध्यापकको पद्‌भार सकुशल सम्हालिरहेका छन्। ग्रिफिथ्स उच्चतर माध्यमिक विद्यालयलाई शिक्षा क्षेत्र लगायत अन्य विभिन्न कार्य क्षेत्रहरूमा उन्नति तथा विकास गरेर स्कुलको नामलाई गौरान्वित तुल्याएकोमा राज्य सरकारको पक्षबाट प्रधान अध्यापक भीम प्रधानलाई उक्त शिक्षा रत्न पुरस्कार प्रदान गरिने भएको जानकारी प्राप्त भएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.