सिलगढी (निसं): तीन दशकको अन्तरालमा चर्चित कवि ज्ञानेन्द्र खतिवडाको दोस्रो कविता कृति ‘ऐना अघिल्तिर’ को एउटा भव्य समारोहबीच बुक एन्ट बुक केफे सालबारीमा लोकार्पण गरियो। बुद्धिजीवी डीएस बम्जनको अध्यक्षता रहेको समारोहमा साहित्य अकादमी पुरस्कार प्रापक प्रबुद्ध साहित्यकार भविलाल लामिछाने मुख्य अतिथि थिए। यसैगरी, दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङ, सिलगढ़ी, सालबारी, डुवर्सलगायत नेपालबाट समेत ज्ञानेन्द्र प्रेमीहरूको अपार उपस्थिति रहेको थियो। लोकार्पण समारोहमा लोकप्रिय सर्जक, युग्मक कविता पुरोधा एवं आकाशवाणी खरसाङका अवकाशप्राप्त निर्देशक कालुसिंह रनपहेंलीले कृतिकार खतिवड़ाको सिङ्गोपाङ्गो जीवन वृत्तान्त राखे। कृतिमाथि उत्तर बङ्गाल विश्वविद्यालयका नेपाली विभागमा सेवारत प्रोफेसर डा. सञ्जय बान्तवाले सारगर्भित समीक्षा राखे। कार्यक्रममा कृतिकार खतिवड़ाले आफ्नो लेखकीय मन्तव्य राखेका थिए। मुख्य अतिथि लामिछानेले कृतिकार एवं कृतिमाथि आफ्नो दृष्टिकोण व्यक्त गरे।
समालोचक तथा उत्तर बङ्गाल विश्वविद्यालयका नेपाली विभागमा सेवारत रिडर डा. घनश्याम नेपाल एवं नेपालको कञ्चनजङ्गा एफएमका निर्देशक चन्द्र शर्माको बाहुलीबाट कृतिकारलाई प्रकाशन संस्था बुकएन्टको पक्षमा लेखक प्रमाण पत्र हस्तान्तरित गरिएको थियो। कार्यक्रममा साहित्य अकादमी पुरस्कार प्रापक कवि मोहन ठकुरी, अवकाशप्राप्त डीएसपी निर्मल सिञ्चुरीले विमोचित कृतिबाट केही कविताहरू प्रस्तुत गरेका थिए। नेपालबाट आएका साहित्यकारहरू प्राध्यापक टङ्क न्यौपाने, चन्द्र शर्मा, दीपक सुवेदीले पनि आफ्ना मन्तव्य र रचना प्रस्तुत गरे। साथै नेपालको तर्फबाट कविलाई सम्मान समेत जनाइएको थियो। कार्यक्रम अवधि बुकएन्टको पक्षमा राजा पुनियानीले सेल्फ पब्लिसिङ, आइएसबीएन र कपिराइटबारे प्रकाशकीय जानकारी राखेका थिए भने समारोह आयोजक बुकएन्टका निर्देशक सुरज गुरुङले समारोह सञ्चालन गरेका थिए।