सिलगढी (निसं): मुख्यमन्त्री ममता ब्यानर्जी जलपाइगढीमा पञ्चायत चुनावी सभा सकेपछि हेलीकप्टरमा सवार भएर कोलकाता फर्कीरहेको समय आज दिउँसो अचानक खराब मौसमको कारण सालुगढास्थित सेनाको हेलीप्याडमा हेलीकप्टर एमर्जेन्सी ल्यान्डिङ गऱ्यो। यसपछि हेलीकप्टरबाट ओर्लिने क्रममा मुख्यमन्त्रीलाई खुट्टा र कम्मरमा सामन्य चोट लागेको बताइएको छ। त्यसपछि मुख्यमन्त्रीको प्राथमिक उपाचार गरेपछि त्यहाँबाट तत्कालै सडक मार्ग हुँदै बाघडुग्रा विमान अड्डामा लगियो अनि पछि त्यहाँबाट तिनी विमानमार्फत कोलकाता फर्किए। अर्कोतिर, हाल दार्जिलिङ भ्रमणमा रहेको राज्यपाल सीभी आनन्द बोसले खराब मौसमको कारण मुख्यमन्त्री सवार भएको हेलिकप्टर सेनाको हेलीप्याडमा एमर्जेन्सी ल्यान्डिङ गर्न परेको अनि मुख्यमन्त्री सुरक्षित रहेको कुरा घटनाको जानकारी लिएपछि ट्वीट गरेर जनाएका छन्।