खरसाङ: नेपाली भाषाले भारतको संविधानको आठौं अनुसूचीमा मान्यता प्राप्त भएको 27 औं भाषा मान्यता दिवस समारोह खरसाङमा पनि सम्पन्न भयो । गोर्खा जनपुस्तकालयको आयोजनामा यहाँको नयाँ बजारस्थित टाउन सार्वजनिक भवनमा सम्पन्न भाषा मान्यता दिवस समारोह पुस्ताकालयको अध्यक्ष पूर्ण गुरूङ निरूपमको अध्यक्षता अनि जीटीए चेयरम्यान अनित थापाको प्रमुख आतिथ्यमा सम्पन्न भयो । ऋषि राईले सञ्चालन गरेको सभामा विभिन्न सांस्कृतिक कार्यक्रम पनि सम्पन्न गरियो। प्रमुख अतिथि जीटीए चेयरम्यान अनित थापाले सम्बोधन गर्दै भने, भाषा दिवस मनाउन विद्यार्थीहरू नआएको भए हामी 8-9 जना मात्र हुने थियौं होला । भाषाले मान्यता पाउँदा निक्कै संघर्ष गर्नु परेको थियो । पाएको पहिलो वर्ष धुमधामले मनाऔं होला तर अहिले छैन्।भाषा मान्यता दिवस हामीले फेस्टीबल जस्तै मनाउनुपर्छ अनि एक दिन मात्रै होइन तर हरेक दिन भाषालाई संरक्षण गर्नुपर्छ, भाषा मान्यता दिवस साहित्यकारहरू मात्रै भेला भएर होइन तर सबै मानिसहरू मिलेर मनाउनुपर्छ भनी बताएका छन् ।