मिरिक: मिरिक युथ क्लबलाई पराजित गरेर कालेबुङको एपेक्स फुटबल टोली अघिल्लो चरणमा प्रवेश गरेको छ। मिरिक स्पोर्टस एसोसिएशनको आयोजनमा यहाँको आले मैदानमा सम्पन्न भइरहेको फुटबल प्रतियोगिता अन्तर्गत आज मिरिक युथ क्लब बनाम कालेबुङ एपेक्समाझ जम्का भेट भयो। खेलको 35औँ मिनटमा जर्सी नम्बर 45 बिपेन थापाले गरेको उत्कृष्ट गोलको सहयोगमा टोलीलाई 1-0 गोलले बढत दिलाए। यसपछि लगत्तै 2 मिनटपछि जर्सी नम्बर 17 साङ्गे शेर्पाले टोलीको तर्फबाट फेरि दोस्रो गोल गरे। खेलको अन्तसम्म मिरिक युथ क्लबका खेलाडीहरूले सक्दो गोल गर्ने प्रयास गरे तापनि सबै व्यर्थ बनेपछि 2-0 गोलको अन्तरमा पराजित भएर प्रतियोगिताबाट बाहिरियो मिरिक युथ क्लब। आजको खेलमा राम्रो खेलको प्रदर्शन गरेर दर्शकवर्गको मन जित्न सफल तथा टोलीको तर्फबाट पहिलो गोल दर्ता गर्ने एपेक्स कालेबुङका खेलाडी दिपेन थापालाई म्यान अफ् द म्याच प्रदान गरियो। भोलिको खेला मानेभञ्ज्याङ एमएफसी बनाम कालेबुङमाझ हुने आयोजक कमिटीले जनाएको छ।