नेहुर बालसन चियाकमानमा गेट मीटिङ

दार्जिलिङ : पुजा बोनस विषयलाई लिएर श्रमिकहरूको मागहरू पूर्ण नभइञ्जेल शान्तिपूर्ण श्रमिक आन्दोलनलाई गेट मिटिङको रूपमा प्रतिवाद जनाउँदै नेहुर बालसन चियाकमानमा गोजमुमो श्रमिक संगठन दार्जिलिङ तराई-डुवर्स प्लान्टेसन लेबर युनियन अनि गोरामुमो श्रमिक संगठन एचपीडब्ल्युयु-को संयुक्त रूपमा गेट सभा बुधबार सम्पन्न भयो। आजको सभामा श्रमिकहरूको पक्षबाट श्रीमती विष्णु राई गुरूङ अनि श्रीमती माला प्रधानले चियाश्रमिकहरूले चैत वैशाखको घाम नभनी, असार-साउनको झरी नभनी चिया पत्ती टिपेर मालिकवर्गलाई नाफा दिन्छ तर यसको बद्लीमा मालिकवर्गबाट शोषण मात्र पाएको भन्दै २०% भन्दा कम्तिमा बोनस पटक्कै नथाप्ने, श्रमिकहरूलाई एकजुटता भएर बस्ने आहवान गरिन्। यसको साथै गोरामुमो नेता एनके राईले श्रमिकहरूलाई सम्बोधन गर्दै मालिकवर्गलाई मुनाफा दिने श्रमिकहरूलाई दशैँकै मुखमा बिचल्नी बनाएकोमा क्षुब्ध बन्दै मालिकवर्गको अन्यायलाई पटक्कै नसहने र श्रमिकहरूको मागलाई फत्ते गरिछाड्ने बताए।


यसरी नै गोजमुमो नेहुर बालासन गोजमुमो श्रमिक संगठन डीटीडीपीएलयु सभापति राजीव त्रिखत्रीले मालिकवर्गको १२% अग्रिम भुक्तान अर्थात् एडभान्सको रूपमा प्रदान गर्ने बोनस प्रस्तावलाई अस्वीकार गर्दै जबसम्म श्रमिकहरूको अधिकार २०% को दरले बोनस प्राप्त हुँदैन तबसम्म श्रमिक आन्दोलनलाई निरन्तरता दिने अनि उक्त श्रमिक आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले अगाडि बड़ाएर लैजाने बताए।  नेहुर बालासन खण्ड समिति सचिव एवम् डीटीडीपीएलयुका संयुक्त सचिव मुकन्दर बम्जनले दार्जिलिङका निर्वाचित सांसद राजु विष्ट केन्द्रीय टी बोर्डको सदस्य भएर पनि चियाकमान श्रमिकहरूको अधिकार पुजा बोनसको मागबारे कुनै पहल नगरेकोमा क्षोभ प्रकट गरे। दार्जिलिङ पहाड़का संयुक्त संगठन जोइन्ट फोरम एवम् गोजमुमो श्रमिक संगठन दार्जिलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियन केन्द्रीय समितिको निर्णयलाई नै अङ्गीकार गर्दै भावी रणनीति र आन्दोलनलाई समर्थन गरिदिने सम्पूर्ण श्रमिकहरूलाई तिनले अनुरोध गरे।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.