सिलगढी : सिलगढ़ीको पाँच नम्बर वार्ड पार्षद दुर्गा सिंह र तिनका पिता पूर्व पार्षद अमरनाथ सिंहमाथि दुष्कृतिहरूले हमला गरेको विरोधमा बुधबार दार्जिलिङ जिल्ला तृणमूल कांग्रेसको तर्फबाट एउटा ऱ्यालीको आयोजना गरियो। नगर निगममा विपक्षका नेता रञ्जन सरकारको नेतृत्वमा उक्त ऱ्याली निकालिइयो। यस ऱ्यालीमा विभिन्न वार्डका पार्षदहरू कालो ब्याज लगाएर सामेल भएका थिए। स्मरण रहोस्, गत आइतबार दिदी के बोलो अर्थात दिदीलाई भन्नुहोस् कार्यसूची अवधि केही दुष्कृतिहरूले 5 नम्बर वार्ड पार्षद दुर्गा सिंह र तिनका पिता पूर्व पार्षद अमरनाथ सिंह माथि हमला गरेका थिए। राज्यका पर्यटन मन्त्री तथा दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष गौतम देवले यस घटनाको घोर निन्दा गरेका थिए। यसको साथै सिलगढीका मेयर अशोक भट्टाचार्यले पनि यस घटनालाई निन्दनीय बताएका छन्।