सिलगढी : “म ग्राउन्ड जीरोको राज्यपाल हुँ, ग्राउन्ड जीरोबाट नै हरेक परिस्थितिमाथि नजर राखिरहेको छु।” हाल दार्जिलिङ जिल्लाको भ्रमणमा रहेका राज्यपाल सीभी आनन्द बोसले आज सिलगढीस्थित सर्किट हाउसमा पत्रकारहरूसितको कुराकानीमा यस प्रकारको मन्तव्य पोखेका हुन्। स्मरण रहोस्, पञ्चायत चुनाउलाई लिएर हाल राज्यको विभिन्न ठाउँबाट हत्या तथा हिंसाका खबरहरू आइरहेको छ। यस्तो स्थितिमा राज्यपाल सीभी आनन्द बोसले राज्यको हिंसाग्रस्त इलाकाहरूको स्वयम् निरीक्षण गरिरहेका छन्। यसै क्रममा गत तीन दिनदेखि तिनी दार्जिलिङ जिल्लाको भ्रमणमा छन्। यसै बीच आज बिहान सांसद राजु विष्टको नेतृत्वमा विधायक नीरज जिम्बा सहित मोठ 9 वटा गठबन्धन पार्टीका नेताहरूले राज्यपालसित औपचारिक भेट गरे। उक्त भेटघाट अवधि सांसद विष्टले राज्यपाललाई पञ्चायत चुनाउ अवधि पहाडमा शान्ति व्यवस्था बनाइराख्ने, उम्मेदवारहरूको सुरक्षा सुनिश्चित गर्नुपर्ने लगायत विविध मागलाई लिएर एउटा ज्ञापन पत्र पनि चढाए। अर्कोतिर, पत्रकारहरूसित कुराकानी गर्दै राज्यपालले भने, पञ्चायत चुनाउको मिति घोषणा भएपछि मैले प्रत्येक दिन पञ्चायत चुनाउ सम्पन्न हुने क्षेत्रहरूमाथि विशेष नजर राखिरहेको छु। आफू देशका राज्यपाल भएकोले राज्यमा शान्ति, प्रत्येक नागरिकको सुरक्षा सुनिश्चित गर्नको साथै हाई कोर्टको निर्देशानुसार पञ्चायत चुनाउ शान्तिपूर्ण ढङ्गमा निष्पक्ष सम्पन्न गराउनु मेरो जिम्मेवारी हो। निश्चिन्त भएर सबैले आ-आफ्नो बहुमूल्य मतदान खसाल्ने तिनले जनतासित अपील गरेका छन्।