शहीद नायक सुभाष थापा पञ्चतत्वमा विलीन

सिलगढी : भारत पाकिस्तान सीमा क्षेत्रअन्तर्गत जम्मु कश्मीरको राजोरी जिल्लाको नैशेरा सेक्टरमा शहीद भएका बाघडुग्रा निवासी नायक सुभाष थापाको आज सैन्य सम्मानको साथमा बेङडुबीको सेना छाउनीमा आफ्नै धार्मिक रीति-रिवाजअनुसार अन्तिम संस्कार गरियो। अन्तिम संस्कार गर्न अघि शहीद सुभाषलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गर्नका लागि सेनाका शीर्ष पदाधिकारीहरूलगायत विभिन्न राजनैतिक तथा संघ-संगठनका प्रतिनिधिहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो। स्मरण रहोस्, देश रक्षाको निम्ति सीमा क्षेत्रमा खटिएका बाघडुग्रा निवासी सुभाष थापा पाकिस्तानी सेनाद्वारा गरिएको हमलामा गम्भीर रूपमा घाइते भएपछि तिनलाई तत्कालै अस्पतालमा लगिए तापनि त्यहाँ तिनले प्राण त्यागेका थिए।


यसपछि तिनको पार्थिव शरीर आइतबार विमानमार्फत् बाघडुग्रा हवाईअड्डामा ल्याइपुराएपछि सेनाले गार्ड अफ् अर्नर दिनको साथै तिनको पार्थिव शरीर बेङ्डुबी सेना छाउनीमा एक रातको निम्ति राखिएको थियो। आज बिहान तिनको पार्थिव शरीर निजी वासस्थानमा पुर्‍याएपछि आफ्नो धार्मिक रीति-रिवाज गरेपछि आफन्तलगायत गाउँलेहरूले फुलमाला चढ़ाएर अश्रुपूर्ण श्रद्धाञ्जलि अर्पण गरे। यसपछि तिनको पार्थिव शरीर पुनः बेङडुबी सेना छाउनीमा लगेपछि सैन्य सम्मानको साथमा शहीद नायक सुभाष थापाको अन्तिम संस्कार गरियो।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.