आमबाड़ी बजारको भयावह अग्निकाण्डमा दोकान जलेर भष्म

राजगञ्ज : आमबाड़ीमा गत अबेर राति भएको भयावह अग्निकाण्डमा एउटा दोकान जलेर भष्म भएको छ। उक्त दुर्घटनामा लाखौं रुपियाँको नोकसान भएको बताइएको छ। प्राप्त जानकारी अनुसार गत अबेर राति राजगञ्जको आमबाड़ी बजारमा बदमाशहरूले दोकानमा चोरी गरेपछि दोकानमा आगो लगाइ दिएर चम्पट कसेको बताइएको छ। गत मध्य रातमा छिमेकीहरूले दोकानमा आगो लागेको देखेपछि मालिक कुन्तल मजुमदारलाई घटनाबारे जानकारी दिएपछि तिनी घटनास्थलमा आइपुगे। यसैगरी, आमबाड़ी थाना पुलिस अनि सिलगढी दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर कठोर मेहनत पछि आगोलाई नियन्त्रणमा ल्याइयो। दोकान मालिक कुन्तल मजुमदारले बताए अनुसार दोकान अनि गोदामको सबै सर- सामान जलेर नष्ट भएको छ। बदमाशहरूले दोकानमा चोरी गरेपछि आगो लगाइ दिएर भागेको हुन सक्ने तिनले आशंका व्यक्त गरेका छन्। अर्कोतिर, स्थानीय व्यवसायीहरूले बदमाशहरूलाई पक्राउ गरेर कठोर सजाय दिनु पर्ने माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *