एघारौँ सहिद गोल्ड कप: युनाईटेड ब्रदर कालेबुङ च्याम्पियन

खरसाङ (निसं): खरसाङमा सम्पन्न भइरहेको एघारौँ सहिद गोल्ड कपमा युनाईटेड ब्रदर कालेबुङ तेस्रोपल्ट च्याम्पियन बनेको छ। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ तथा जीटीएको युवा मामिला अनि खेलकूद विभागको संयुक्त आयोजनामा गत 17 जनवरीदेखि खरसाङको चानबारी खेल मैदानमा भइरहेको एघारौँ सहिद गोल्ड कपको फाइनल खेल आज युनाईटेड ब्रदर कालेबुङ बनाम कञ्चनजङ्घा स्पोर्टिङ क्लब केएफसीमाझ सम्पन्न भयो। यस फाइनल खेलको लगभग 15 मिनटमा कालेबुङको जर्सी नम्बर 4 रोशन राईले गोल गरेर बढत बनाएको थियो अनि पहिलो हाफको खेल समाप्त हुँदा खेल 1-0 रहेको थियो। दोस्रो हाफमा पनि युनाईटेड ब्रदर कालेबुङको जर्सी नम्बर 8 बिक्की थापाले फ्रि किकमा दर्शनीय गोल गरेर खेल 2-0 बनाएका थिए। यलको लगत्तै कालेबुङका खेलाडीले केएफसीको गोल पोष्ट नजिकबाट हिर्काएको बल गोल पोष्टमा लागेर फर्किएको थियो। अन्तिम समयसम्म पनि केएफसीले गोल गर्ने प्रयास गरे तापनि कुनै गोल गर्न सकेन। फाइनल खेलमा कालेबुङका खेलाडीहरूले प्राय: नै बल आफ्नो वंशमा राखेको देखियो।


केएफसीले कुनै गोल गर्न नसकेपछि अन्तिममा युनाईटेड ब्रदर कालेबुङले खेल 2-0 को अन्तरले जित्दै एघारौँ सहिद गोल्डको खिताब आफ्नो झोलीमा पारेको छ। यो जीतसितै युनाईटेड ब्रदर कालेबुङ खरसाङमा हुने सहिद गोल्ड कपमा तेस्रोपल्ट च्याम्पियन बनेको छ। आजको फाइनल खेलमा म्यान अफ् द म्याच कालेबुङको जर्सी नम्बर 8 बिक्की थापा चयन भएका छन् भने म्यान अफ् द टुर्नामेन्ट सप्तक शेर्पा चयन भएका छन्। त्यसरी नै सर्वाधिक गोलदाताको खिताब केएफसीको खेलाडी पुजन सुब्बा अनि बेस्ट गोल किपरको खिताब कालेबुङको कटगोल किपर योगेस लामा चयन भएका छन्। यस एघारौँ सहिद गोल्डको च्याम्पियनलाई आकर्षक ट्रफी सहित 2 लाख रुपियाँ नगद राशि अनि उप विजेता टोलीलाई ट्रफी सहित 1 लाख रुपियाँ नगद राशि प्रदान गरियो। आजको फाइनल खेलमा मुख्य अतिथिको रूपमा जीटीएको युवा मामिला अनि खेलकूद विभागका एमओडी सभासद नवराज छेत्री उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा खरसाङ महकुमा शासक आईएएस अवध सिंघल, सभासदद्वय श्याम शेर्पा र नुरी शेर्पा, खरसाङ नगरपालिकाका चेयरम्यान ब्रिगेन गुरुङ र भाइस चेयरम्यान सुवास प्रधान लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *