सिलगढी : कोरोना महामारीको समयमा ब्ल्याक फङ्गस अर्थात् म्युकरमाइकोसिसको संक्रमण बढ्दै गइरहेको छ। सिलगढी सहरमा हालसम्म ब्ल्याक फङ्गसले संक्रमित भएर 5 जनाको मृत्यु भइसकेको छ भने धेरैजना संक्रमित भइसकेका छन्। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा आज म्युकरमाइकोसिस अर्थात् ब्ल्याक फङ्गसबारे एउटा सेमिनारको आयोजना गरियो। उक्त सेमिनारमा विभिन्न विभागका अधिकारीहरू उपस्थित थिए। ब्ल्याक फङ्गसको चिकित्साबारे राज्य सरकारको तर्फबाट एउटा गाइड लाइन जारी गरेको छ भने उक्त गाइड लाइनलाई कस्तो प्रकारले लागू गरिने भन्ने विषयलाई लिएर उक्त सेमिनारको आयोजना गरिएको बताइएको छ। यस सम्बन्धमा उत्तरबंग मेडिकल कलेज तथा अस्पतालका प्रिन्सिपल इन्द्रजीत साहाले बताएअनुसार ब्ल्याक फङ्गसविरुद्ध लड्नको लागि राज्य स्वास्थ्य विभागले सबै प्रकारको तयारी गरिसकेको छ। राज्य स्वास्थ्य विभागद्वारा जारी गाइड लाइनअनुसार नै उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालले ब्ल्याक फङ्गसले संक्रमित रोगीहरूको उपचार गर्ने तिनले बताए। उत्तरबंगका सबै ब्ल्याक फङ्गसले संक्रमित रोगीहरूको यहाँ उपचार गरिने तिनले जानकारी दिए।