कूचबिहारमा आफ्नै छोराको निर्ममतापूर्वक हत्या, हत्याको आरोपमा पिता पक्राउ

कूचबिहार (निसं): कूचबिहारको सिताई ब्रह्मोत्तर चतराको अन्दरान सिंगीमारी इलाकामा छोरालाई आफ्नै पिताले निर्ममतापूर्वक हत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना पछि इलाकामा सनसनी फैलिएको छ। मृतकको नाम रामकृष्ण रविदास हो भने हत्यारा आरोपी पिताको नाम चन्द्रदेव रविदास बताइएको छ। स्थानीय सूत्र अनुसार, चन्द्रदेव रविदासका पाँच जना छोराहरू छन्। तिनीहरू सबै अलग-अलग छन्। तर रामकृष्ण आफ्नो पितासित बस्ने गर्दथे। आज बिहान छोराको रक्ताम्मे अवस्थामा शव उद्धार गरेको छ। प्राप्त जानकारी अनुसार पिता-पुत्र बीच जमीनलाई लिएर कहिले-काही विवाद हुने गर्दथ्यो। पुलिसले गरेको प्राथमिक अनुमान अनुसार जमीन विवादलाई लिएर सम्भवत छोराको हत्या गरिएको हो। तथापि, परिवारका सदस्यहरूलाई हत्याको कारण थाहा नलागेको बताइको छ। अर्कोतिर, घटनाको सूचना पाएपछि सिताई थानाको पुलिस घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमार्टमको लागि माथाभांगा अस्पतालमा पठाइदिएको छ। उक्त घटनामा पुलिसले हत्या गरेको आरोपमा पितालाई सोधखोजको लागि हिरासतमा लिएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *