कोरोना संक्रमित लोग्नेलाई घरबाट निकालिदिएको स्वास्नीविरुद्ध अभियोग

सिलगढी: सिलगढीको हैदरपाडामा एकजना व्यक्तिको म्यासेज फोनमार्फत् कोरोना टेस्ट पोजेटिभ आएको खबर सुनेपछि स्वास्नीले तिनलाई घरबाट निकालिदिएको अभियोग उठेको छ। प्राप्त जानकारीअनुसार उक्त व्यक्तिले केही दिनअघि स्वाब टेस्ट गरेका थिए भने गत बुधबार साँझ फोनमार्फत् तिनी कोरोना संक्रमित भएको म्यासेज आएपछि तिनले यसबारे आफ्नी स्वास्नीलाई जनाएपछि स्वास्नीले तिनलाई घरबाट निकालिदिएको बताइएको छ। उक्त व्यक्तिको इस्टर्न बाइपास संलग्न दक्षिण एकटियाशालमा एउटा घर रहेकोले तिनले त्यहीँ होम क्वारेन्टाइनमा बस्ने विचार गरेका थिए तर त्यहाँका मानिसहरूलाई पनि तिनको स्वास्नीले आफ्नो लोग्ने कोरोना संक्रमित भएकोबारे जनाइदिएपछि त्यहाँ पनि बस्न नदिएपछि तिनी घण्टौँसम्म सडकमै बसिरहे। अर्कोतिर, केही इलाकावासीहरूले उक्त व्यक्तिलाई इलाकामा बस्न नदिने माग गर्दै इस्टर्न बाइपास रोड अवरोध गरेर विरोध प्रदर्शन गरे। यसको साथै उक्त रोड भएर आवतजावत गर्ने ट्रकहरू समेत रोकिदिए। यसपछि घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर स्वास्थ्य विभागसँग सम्पर्क गरेर एम्बुलेन्समार्फत् उक्त व्यक्तिलाई कोभिड अस्पतालमा पठाइयो। स्थानीय मानिसहरूको अभियोग अनुसार उक्त व्यक्ति इस्टर्न बाइपास इलाकामा नबसेर अन्यत्र भाडाको घरमा बस्दै आइरहेको साथै तिनी यहाँ आएपछि आफूहरूले अस्पताल जाने आग्रह गर्दा तिनी नमानेपछि प्रशासनले यसको उचित व्यवस्था मिलाओस् भन्ने उद्देश्य लिएर आफूहरूले पथ अवरोध गरेर विरोध प्रदर्शनी गरेको स्थानीय मानिसहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *