नक्सलबारी, 6 जनवरी (निसं): बगान प्रबन्धन पक्षले चिया श्रमिकहरूमाथि अतिरिक्त कामको बोझ थोपिरहेको आरोप लगाउँदै वामपन्थी श्रमिक संगठन दार्जिलिङ जिल्ला चिया कमान मजदूर यूनियन र तृणमूल काङ्ग्रेसको श्रमिक संगठन आईएनटीटीयूसी-ले संयुक्त रूपमा नक्सलबारी चिया बगानमा विरोध प्रदर्शन गऱ्यो। सोमबार दुई युनियनको संयुक्त पहलमा श्रमिकहरूले काम बन्द गरेर विरोध प्रदर्शन गरे। चिया श्रमिकहरू माथि कामको अतिरिक्त बोझ थोप्न नपाउने साथै तिनीहरूले वेतन, पीएफ र ग्रेच्युटी समयमैं भुक्तान गरिनु पर्ने संयुक्त संगठनले माग राखेको छ।
अर्कोतर्फ, नक्सलबारी चिया बगानका म्यानेजर कौशिक दासले भने, बगान प्रबन्धनले केही वर्षदेखि आर्थिक समस्याहरूको सामना गर्दै आइरहेको छ। त्यसपछि पनि श्रमिकहरूलाई वेतन, पीएफ र ग्रेच्युटीको भुक्तानी दिइरहेको छ। कुनै पनि श्रमिकमाथि अधिक बोझ थोपिएको छैन। जसको जति काम छ, त्यो काम दिइएको छ। बाँकी सबैलाई 8 घण्टा काम गर्ने निर्देश दिएको छ।