जलपाईगढीको तीनवटा चामल मिल सिल गर्ने खाद्य मन्त्रीको निर्देश

जलपाईगढी : सरकारी धानको बद्लीमा चामल नदिएको आरोपमा जलपाईगढीको तीनवटा चामल मिल सिल गरिदिने खाद्यमन्त्री ज्योतिप्रिय मल्लिकले निर्देश दिएका छन्। आवश्यक परेको खण्डमा उक्त तीनवटा चामल मिलको मालिकलाई पक्राउ गर्न पनि सकिने तिनले चेताउनी दिएका छन्। जलपाईगढी जिल्लाशासक कार्यालयमा शनिबार खाद्य मन्त्रीले एउटा उच्च स्तरीय बैठक गरे। उक्त बैठकमा खाद्य विभागीय प्रिन्सिपल सेक्रेटरी अजय अग्रवाल, जिल्लाशासक अभिषेक तिवारीलगायत जलपाईगढी जिल्लाका विभिन्न क्षेत्रका खण्ड विकास अधिकारीहरू एवम् पुलिसका शीर्ष अधिकारीहरू पनि उपस्थित थिए। यी तीनवटा चामल मिलका मालिकहरूविरुद्ध अभियोग दर्ता गरेको तिनले बताए। यसबाहेक मयनागुढीको एउटा चामल मिलमा भएको सबै चामल निकालेपछि त्यस मिललाई सिल गर्ने जिल्लाशासकलाई खाद्य मन्त्री आज निर्देश दिए। यसैगरी, जलपाईगढी जिल्ला अन्तर्गत पर्ने दुईवटा चामल मिलका मालिकहरूले धान लगेर सरकारलाई चामल नदिएको जानकारी गराउँदै तिनीहरूविरुद्ध पनि कठोर कार्वाही गर्ने खाद्य मन्त्रीले निर्देश दिएका छन्। यदि ती मिलका मालिकहरूले चामल नदिएको खण्डमा तिनीहरूको सम्पत्ति कुर्की गर्नसक्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *