खरसाङको नाट्य संस्था जागृति परिवार स्वर्ण वर्षमा प्रवेश

खरसाङ (निसं) : बन्धकी राखेको सिन्दूर’, ‘जीवन जिज्ञासा’, ‘आगो लागेको क्षितिज’, ‘शीर्षकविहीन’, ‘रातो सूर्यको अपहरण’, ‘अग्निशिखा’, ‘श्रापित अनुहार’, ‘दैत्यराज दुर्भिक्षजस्ता दर्जनौं कलात्मक नाटकहरू प्रदर्शन गरेर सत्तरदेखि नब्बेको दशकको अन्त्यसम्म नाटकको क्षेत्रमा हलचल मच्चाउने खरसाङको जागृति परिवार अब स्वर्ण जयन्तीको दिशामा प्रवेश गरेको छ। 29 जुलाई 1973 -मा स्थापित भएको नाट्य संस्था जागृति परिवारले 49 वर्ष पुरा गरेर अब 50 वर्षमा पाइला टेकेको छ। जागृति परिवारको 49औँ स्थापना दिवस निजी भवनमा  परिवारका अध्यक्ष खेमराज राईको अध्यक्षतामा सम्पन्न भयो। उक्त कार्यक्रममा संस्थाका संस्थापक एवम् सुपरिचित नाटककार पूर्ण गुरुङ निरुपम लगायत पुराना सदस्यहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको प्रारम्भमा माता सरस्वतीको तस्वीरमा दियो बालेर शुभारम्भ गरियो भने परिवारका स्वर्गीय सदस्यहरूलाई श्रद्धाञ्जलि अर्पण गरेर एक मिनटको मौन धारण गरियो। परिवारका सचिव राजेन थापाले सञ्चालन गरेको कार्यक्रममा 49 वर्ष पुगेर स्वर्ण वर्षमा प्रवेश गरेको खुशीमा केक काटियो। नाटककार पूर्ण गुरुङ निरुपम-ले जागृति परिवारको स्थापना, नाटकका क्षेत्रहरूमा गरेका कार्यहरू र सङ्घर्षहरूलाई आफ्नो वक्तव्यमा प्रस्तुत गरे। परिवारका अध्यक्ष खेमराज राईले स्वयम् एकजना नाट्य कलाकार भएका हुनाले पुराना दिनहरूलाई स्मरण गर्दै रोचक वक्तव्य प्रस्तुत गरे। कार्यक्रमपछि सम्पन्न भएको सभामा आउँदो वर्ष 2023 मा जागृति परिवारको 50 वर्ष पुरा हुने भएकोले स्वर्ण जयन्ती पालन गर्ने बारेमा विचार-विमर्श गरियो। यसको निम्ति आउँदो महिना 6 अगस्तको दिन परिवारको सभा हुनेछ र त्यसै सभामा एउटा समिति गठन गरिने भएको छ। सोही सभामा स्वर्ण वर्षको कार्यक्रमबारे छलफल गरिने र नयाँ युवा कालाकारहरूलाई नाट्य क्षेत्रमा प्रोत्साहित गर्न जागृति परिवारले सदस्यको रूपमा समावेश गर्ने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *