महानन्दामा रेलिङ बनाएपछि छठ पुजालाई लिएर आयोजकहरू असमञ्जसमा

सिलगढी : महानन्दाको लालमोहन मौलिक निरञ्जन घाटमा रेलिङ निर्माण गरिएकोले छठ पुजा गर्ने मानिसहरूलाई निक्कै समस्या भइरहेको छ। यस वर्ष छठ पुजा गरिन्छ कि गरिँदैन भन्ने विषयलाई लिएर पुजा आयोजकहरू असमञ्जसमा परेका छन्। प्रत्येक वर्ष नै उक्त घाटमा छठ पुजाको आयोजना गर्दै आइरहेको छ। केही वर्ष अघि ग्रीन ट्रिब्युनलले महाननन्दा नदीमा कहीँ पनि छठ घाट नबनाउने निर्देश दिएको थियो। तर उक्त नदीको दुवैतिरको किनारमा छठ घाटको तयार शुरू गरिएको छ। सिलगढी नगरनिगमको तर्फबाट महानन्दा घाटको सौन्दर्यीकरणको लागि नदीको किनारमा रेलिङ बनाएकोले यस वर्ष कसरी छठ घाट बनाउने भन्ने विषयलाई लिएर छठ पुजा आयोजकहरू चिन्तित बन्न पुगेका छन्। यस विषयलाई लिएर छठ पुजा आयोजकहरूले प्रशासनसित पनि भेट गरे। केही दिन अघि प्रशासक बोर्डका चेयरम्यान अशोक भट्टाचार्य उक्त घाटको निरीक्षण गर्न आएको समय छठ पुजा आयोजकहरूले तिनलाई घेराउ गरेर विरोध जनाएका थिए। यसपछि आज प्रशासनले उक्त रेलिङ भत्काएर 2 वटा गेट बनाउने कार्य शुरू गरेको छ भने पुजा आयोजकहरूले यसको पनि विरोध जनाएका छन्। सौन्दर्यीकरणको लागि बनाइएको रेलिङ नभत्काओस् भन्ने तिनीहरूको भनाइ रहेको छ। आज छठ पुजा समितिका कार्यकर्ता, सदस्य र पुजा आयोजकहरूले एउटा बैठक गरे। उक्त बैठकमा समितिका प्रवक्ता अत्रि शर्माले घाटमा छठ पुजाको आयोजना गरिन्छ अथवा गरिँदैन भन्ने विषयमा हालसम्म पनि अन्तिम निर्णय नलिइएको बताए। यसको साथै आफूहरू रेलिङ भत्काउने पक्षमा नरहेको तिनले जनाए। आफूहरू कानुन अनुसार कार्य गर्ने साथै यसबारे फेरि चर्चा गरेर यसको समाधान निकाल्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *