नक्सलबारी, 26 अप्रेल (निसं): दार्जीलिङ जिल्ला चिया कमान मजदूर यूनियनको आयोजनामा नाबालिकासित भएको सामूहिक दुष्कर्मका दोषीहरूलाई कडा सजाय दिनु पर्ने अनि पीडित परिवारको सुरक्षाको माग गर्दै नक्सलबारी थानामा विरोध प्रदर्शन गऱ्यो। स्मरण रहोस, गत 20 अप्रेल राति नक्सलबारी किरणचन्द्र चिया बगानमा एकजना नाबालिकासित सामूहिक दुष्कर्म गरिएको थियो। यसपछि पुलिसले घटनाको जाँच गर्दै आरोपी तीन जना युवकलाई पक्राउ गरेको छ। कथित रूपमा घटनाको अघिल्लो दिनदेखि नै आरोपी युवकको परिवारका सदस्यहरूले नाबालिकालाई बचाउने एकजना स्थानीय व्यक्ति अनि पीडिताको परिवारका सदस्यहरूलाई मार्ने धम्की दिइरहेको बताइएको छ। यसैले, संगठनका सदस्यहरूले पीडिताको परिवारलाई सुरक्षा दिनु पर्ने साथै दोषीहरूलाई कडा सजाय दिनुपर्ने माग गरेको छ।