फाँसीदेवा, 5 दिसम्बर (निसं): फाँसीदेवाको कमला बगान क्षेत्रको राष्ट्रीय राजमार्गमा वाहनको धक्काले एउटा वयस्क चितुवाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार, आज बिहान कमला बगान 27 नम्बर राष्ट्रिय राजमार्गमा सडक पार गरिरहेको समय वाहनको धक्का लागेर एउटा चितुवालाई गम्भीर चोट लाग्यो। उक्त घटनाबारे थाहा पाएपछि घोषपुकुर पुलिस र घोषपुकुर वन विभागका कर्मीहरू घटनास्थलमा पुगे, तर त्यतिबेलासम्म चितुवाको मृत्यु भइसकेको थियो। स्मरण रहोस, यसअघि पनि कमला बगान क्षेत्रमा वाहनको धक्का लागेर एउटा वयस्क चितुवा मरेको थियो। यसरी लगातार दुर्घटनामा चितुवा लगायत अन्य जंगली जानवरहरूको मृत्यु भइरहेकोले गर्दा वन विभागका अधिकारीहरू निक्कै चिन्तित छन्। पुलिसले यस घटनाको विस्तृत जाँच गरिरहेको छ।