पूर्व उपराष्ट्रपति वैंकैया नायडुलाई भेट्ने सम्भावित भाजपा प्रार्थी जीटी लेप्चाको हुन् त ?

टिस्टा भेल्ली (निसं) : आगामी लोकसभा चुनाउको लागि दार्जिलिङ आसनको भाजपा उम्मेद्वारको सम्भावित सूचीमा रहेको विषयमा हाल चर्चामा रहेका जीटी लेप्चा हाल दिल्ली पुगेका छन्। तिनले दिल्लीस्थित भाजपा मुख्यालयमा बुधबार भाजपा नेता तथा देशका पूर्व उप-राष्ट्रपति वैंकैया नायडुसँग सौहार्द्रपूर्ण भेटघाट गरेको जानकारी प्राप्त भएको छ।
आउँदो 2024 मा सम्पन्न हुने लोकसभा चुनाउलाई केन्द्र गर्दै भाजपा उम्मेद्वारका रूपमा दार्जिलिङ आसनको निम्ति टिकट पाउने प्रवल दावेदारहरूमध्ये एक मानिएका जीटी लेप्चा को हुन् त ? तिनीबारे सामान्य कुरा जानी राखौं। दार्जिलिङ जिल्लाको रंगली रंगलीयट तकदाह ब्लक अन्तर्गत पर्ने तकलिङ पेशोक समष्टीको तकलिङ बस्ती निवासी हुन् जीटी लेप्चा। आफ्नो जीवनको 24 वर्षसम्म सीआरपीएफ-को रूपमा देशको सेवा गरेर अवकाश ग्रहण गरेपछि तिनी हाल आफ्नो घर फर्किआएका छन्। तिनको भाजपाका वरिष्ठ नेतृत्वहरूसित खुबै नजिकको सम्बन्ध रहेको कारणले गर्दा पनि तिनले चुनाउ टिकट पाउन सक्ने अधिक सम्भावना रहेको बताइन्छ। प्राप्त जानकारी अनुसार, सीआरपीएफ-को सेकेण्ड इन् कमाण्ड (एसपी) को पदबाट अवकाश ग्रहण गरेका जीटी लेप्चाले देशका पूर्व दिवङ्गत प्रधानमन्त्री अटल बिहारी बाजपेयीको अंग रक्षकको रूपमा रहेर धेरै वर्षसम्म काम गरे। पूर्व प्रधानमन्त्री बाजयेपीले जीटी लेप्चाको निम्ति नै विशेष सहायकको नयाँ पद सिर्जना गरेर उक्त पदमा तिनलाई नियुक्त गरेर आफूसित राखेको बताइन्छ। उनले 1996 देखि 16 वर्षसम्म अटल बिहारी बाजपेयीसित खुबै नजिकमा रहेर काम गर्ने मौका पाएका थिए भने त्यसरी नै पूर्व प्रधानमन्त्री नरसिंह रावसित पनि 1994-96 सम्म अंग रक्षकको रूपमा काम गरेका थिए। नोकरीबाट अवकाश ग्रहण गरेर घर फर्किएका जीटी लेप्चाले आफ्नो रहल जीवन जनसेवा अनि गाउँ-घरको विकासको निम्ति बिताउने सोंच राखेको कारणले गर्दा आउँदो लोकसभा चुनाउमा भाजपाको टिकटमा दार्जीलिङ आसनबाट चुनाउ लड्ने मौका पाए, चुनाउ लड्ने ईच्छा जाहेर गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *