सिलगढी : सिलगढीको शक्तिगढ इलाकामा आज बिहान मर्मान्तिक सडक दुर्घटनामा एकजना बाइक सवार युवकको मृत्यु भएको छ भने अन्य एकजना युवक गम्भीर रूपमा घाइते भएका छन्। मृतक युवक अनवर अनि घाइते युवक हारून मियाँको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार दुईजना युवक बाइकमा सवार भएर सिलगढीतर्फ गइरहेको समय पछिल्तिरबाट आइरहेको एउटा बसले धक्का दिँदा बाइकबाट भुइँमा लडेपछि तीमध्ये एकजना युवकलाई किच्चाएर घटनास्थलबाट भागेको बताइएको छ। घटनास्थलमै एकजना युवकको मृत्यु भएको छ भने अन्य एकजना युवक गम्भीर रूपमा घाइते भएका छन्। घटनाको खबर पाएर एनजेपी थाना पुलिस र जलपाईमोड ट्राफिक पुलिस घटनास्थलमा पुगेर घाइते युवकलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। यसको साथै मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।