सिलगढीमा ज्वाइँद्वारा सासुको हत्या-स्वास्नी घाइते, आरोपी पक्राउ

सिलगढी : सिलगढी जिल्ला अस्पताल मोडमा ज्वाइँले छुरीले प्रहार गरेर सासुको हत्या गरेको घटना प्रकाशमा आएको छ। मृतक महिलाको नाम रूक्सना खातुन बताइएको छ। प्राप्त जानकारी अनुसार पारिवारिक विवादले गर्दा मोहम्मद साहिद नाम गरेका एकजना व्यक्तिले सासु रूक्सना खातुन र स्वास्नी सकिना खातुनमाथि हमला गर्दा घटनास्थलमै सासुको मृत्यु भएको छ भने स्वास्नीको अवस्था आशंकाजनक रहेको बताइएको छ। हाल सकिना खातुनको सिलगढी जिल्ला अस्पतालमा उपचार चलिरहेको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार गत 7 वर्ष अघि मोहम्मद साहिद र सकिनाको बिहे भएको थियो। बिहेपछि नै पारिवारिक अशान्ति चलिरहेकोले गर्दा सकिना माइता आएर बस्न थालिन्। यसपछि तिनीहरूमाझ पारिवारिक विवाद चलिरहेको थियो। आज बिहान सिलगढी जिल्ला अस्पतालको विपरीत दिशामा साहिदको स्वास्नी र सासुसित झगडा हुँदा तिनले ब्यागबाट छुरी निकालेर स्वास्नी र सासुमाथि हमला गर्दा घटनास्थलमै सासुको मृत्यु भएको छ भने स्वास्नी आशंकाजनक अवस्थामा रहेको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूले आरोपी साहिदलाई पक्रेर सिलगढी थाना पुलिसलाई सुम्पिदिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *