सिलगढी नगरनिगम चुनाउलाई केन्द्र गरेर पुलिसद्वारा सहरमा रूट मार्च

सिलगढी : सिलगढी नगरनिगम चुनाउलाई लिएर चुनाउ आयोगले तयारी पुरा गरिसकेको छ भने एसडीओको तर्फबाट सिलगढी नगरनिगम चुनाउको लागि मतदान केन्द्रहरू चयन गरिसकेको छ। मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्थालाई लिएर सबै रूप रेखा तयार गरिसकेको छ। सिलगढी नगरनिगम चुनाउको लागि 501 वटा मतदान केन्द्रहरू बनाइएको छ, जसमा 18 वटा केन्द्रहरू संवेदनशील केन्द्रको रूपमा चिन्हित गरिएको छ। सिलगढी नगरनिगम चुनाउलाई केन्द्र गरेर  मेट्रोपलिटन पुलिसले सहरमा सुरक्षा व्यवस्था अझ बलियो बनाउन तयारी शुरू गरेको छ। चुनाउ अवधि सहरमा सुरक्षा व्यवस्था बनिरहोस्, कुनै प्रकारले कानुन-व्यवस्था भङ्ग नहोस् भनेर मेट्रोपलिटन पुलिसको तर्फबाट आज सिलगढी सहरमा रूट मार्च शुरू गरेको छ।


आज सिलगढी मेट्रोपलिटनको प्रधान नगर थानाका आईसी, एसीपी मनीष यादवको नेतृत्वमा नगरनिगमको 46 नम्बर वार्ड समर नगर, गणेश घोष कोलनी, ढकनीकट्टा, पोकाइजोत लगायत यहाँको विभिन्न गल्लीहरूमा रूट मार्च अभियान चलायो। चुनाउअघि प्रचारमा अथवा कुनै पनि राजनैतिक पार्टीहरूमाझ संघर्ष नहोस्, सहरमा कानुन व्यवस्था कायम रहोस् भन्ने उद्देश्य लिएर पुलिसले सिलगढी सहरमा विशेष नजरदारी राखिरहेको छ। उल्लेखनीय छ, राज्यमा हाल कोरोना संक्रमणको सङ्ख्या बढ्दै गइरहेकोले चुनाउ आयोगको तर्फबाट सिलगढी नगरनिगम चुनाउको मिति पूर्व निर्धारित मितिभन्दा 3 सप्ताह अघि बढाएर आगामी 12 फरवरी तय गरेको छ। पुलिसको रूट मार्च आगामी चुनाउसम्म जारी रहनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *