उत्तर बंगालमा विकास भएको नदेख्नेहरूले राति सुत्ने बेलामा आँखामा हारपिक हाल्नुपर्छ : मन्त्री उद्यन गुह

सिलगढी : उत्तर बंगालको विकास भएको नदेखेकाहरूको आखाँमा राति सुत्ने बेलामा 2 ड्रप हारपिक हाल्नुपर्छ। सिलगढीमा तृणमूलको पदयात्रामा अंश ग्रहण गर्न आइपुगेका उत्तरबंग विकास मन्त्री उद्यन गुहले आज पत्रकार सम्मेलनको आयोजना गरेर यस प्रकारको मन्तव्य पोखेका हुन्। बङ्गभङ्ग विरुद्ध तृणमूलले आज सिलगढीमा एउटा विराट पदयात्राको आयोजना गर्यो। उक्त पदयात्रा शुरू हुन अगावै उत्तरबंग विकास मन्त्री उद्यन गुहले मल्लागढीको एउटा होटलमा पत्रकार सम्मेलनको आयोजना गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, केही मानिसहरूले उत्तर बङ्गालमा विकास भएको देखेका छैनन्। प्रथमतः यी सबै मानिसहरूको मोतिविन्दुको अपरेसन गर्नुपर्छ भन्ने मलाई लागे तापनि अब तिनीहरूको आखाँमा राति सुत्ने बेलामा 2 ड्रप हारपिक हाल्नुपर्छ अनि मात्र तिनीहरूले उत्तरबंगको विकास देख्न सक्छन्। तिनले अझ भने, चुनाउ आउन साथ भाजपा-ले केही मानिसहरूलाई साथमा लिएर अलग राज्य तथा केन्द्र शासित अञ्चलको माग उठाउने गर्छ। तथापि, तृणमूल बङ्गभङ्गको विरोधमा छ। बङ्गाल विभाजन हुँदैन। यसैले आजको यो पदयात्रा बङ्गभङ्ग गर्ने षड्यन्त्र विरुद्ध हो। यसको साथै तिनले केन्द्रीय मन्त्री निशीथ प्रामाणिक र जोन बारललाई पनि कटाक्ष कसे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *