नयाँ दिल्ली : चिया बगानका वासिन्दाहरुलाई 5 डेसिमल जमिनको पर्जा पट्टा दिने विषयले दार्जीलिङ पहाडको राजनीति तातीरहेका बेला दिल्ली एनसीआर-मा बस्ने गोर्खा समुदायले 5 डेसिमल जमिनको पर्जा पट्टा कुनै पनि हालतमा थाप्न नहुने भन्दै विरोध जनाएका छन। गोर्खाल्याण्ड संयुक्त संघर्ष समिति G ट्रिपल एसको आह्वानमा आयोजित विरोध सभामा दिल्ली एनसीआरस्थित विभिन्न गोर्खा संघ-संस्थाका प्रतिनिधिहरुले 5 डेसिमल जमिनको पर्जा पट्टाको रुपमा यो गोर्खाल्याण्डको आन्दोलनलाई सिद्धयाउन गरिएको चाल हो भनी बताएका छन्। तिनीहरुले 5 डेसिमल जमिन भारतमा शरणार्थीहरुलाई दिने प्रावधान भएकाले जमिनसँगै बसेका भारतीय गोर्खालाई 5 डेसिमल जमिन नाममा गरेर सरकारले शरणार्थी बनाउन खोजेको आरोप लगाएका छन्। सभाले विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको सहभागितामा 5 डेसिमल विरुद्धको आन्दोलनलाई निरन्तरता दिन एक संयुक्त समितिको गठन पनि गरेको छ। समितिले आगामी दिनमा यसै विषयमा जन्तर मन्तरमा धर्ना प्रदर्शन गर्दै विरोध गर्न निर्णय पनि गरेको छ।
समारोहमा बोल्ने विभिन्न संस्थाका अधिकांश प्रतिनिधिहरुले पहाडको चिया कमानमा बस्दै आएका वासिन्दाहरुले भोग चलन गर्दै आएको ठूलो जग्गामध्ये पश्चिम बंगाल राज्य सरकारले उनिहरुकै जमिनको थोरै जग्गाको रुपमा 5 डेसिमल जमिन मात्रै दिन लागेकोमा विरोध गर्दै त्यसलाई समर्थन गर्ने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका नेताहरुको आलोचना गरे। गोर्खाहरु बाहिरका वासिन्दा हुन भन्ने आसयको बयान दिने अधिवक्ता डीके प्रधानको बयानको पनि चर्को आलोचना गर्दै वक्ताहरुले त्यस्तो बयान दिने व्यक्ति गोर्खा पुत्र हुन नसक्ने बताएका छन्। समारोहमा 5 डेसिमल जमिनको पर्जा पट्टा दिने निर्णयको कडा विरोध गर्दै उत्तम कुमार क्षेत्री, मनोज शंकर, आकाश रामुदामु, रुद्र गुरुङ, डीके प्रधान, रञ्जु परियार, रवि दयाली, सबिन तामाङ, समीर, गोपाल तामाङ, सिमि राई, पेट्रिसिया निकोलस, ममिता तामाङ आदिले सरकार 5 डेसिमलको मुद्दाबाट पछि नहटेसम्म दिल्लीबाट विरोध नरोकिने बताएका छन्। दार्जिलिङ पहाडका गोर्खाहरुका लागि भन्दै दिल्लीमा गोर्खा भवन बनाइएको भएपनि दार्जीलिङ पहाडका गोर्खाहरुले भन्दा पनि नेपालबाट आएका नेपालीहरुलाई त्यसको लाभ दिइरहेको र पहाडका विरामी र मानिसहरुले त्यहाँ बास नपाएर अन्यत्र बस्नु पर्ने अवस्था रहेको भन्दै कामै नलाग्ने गोर्खा भवनमा ताला लगाइदिने चेतावनी समेत दिएका छन्।