खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत घैयाबारीको नेताजी हाई स्कुल र कारगिल एनजीओ-को संयुक्त आयोजनामा आज विश्व पर्यावरण दिवस पालन गर्दै रुखका विरुवाहरू रोपियो। विशेष हिज आइतबार परेको र सबै स्कुलहरू छुट्टी भएको कारणले गर्दा आज विश्व पर्यावरण दिवस पालन गरिएको बताइएको छ। यस अवसरमा घैयाबारीको नेताजी हाई स्कुलको प्राङ्गणदेखि विद्यार्थीहरूद्वारा पर्यावरण सचेतना विषयमा रेली निकालिइयो। उक्त रेली घैयाबारीबाट एनएच 55 हुँदै पगलाझोड़ा पुगेर समाप्त गरियो। यसपछि एनएच 55 अन्तर्गत पगलाझोड़ाको पैह्रोमा गएर बिरुवाहरू रोप्ने कार्य गरियो।
विरुवा रोपन कार्य अघि नेताजी हाई स्कुलको सह-शिक्षक दिनेश प्रधान र वन विभागबाट बिट अफिसर वाङदुप लेप्चाले वन संरक्षण र पर्यावरण संरक्षण विषयमा विद्यार्थी नानीहरूलाई जानकारी गराए। पगला झोड़ाको पैह्रो क्षेत्रमा भूतपूर्व सैनिकहरूको सङ्गठन कारगिल एनजीओ-का पदाधिकारीहरू लगायत नेताजी हाई स्कुलका विद्यार्थीहरू मिलेर वन विभागद्वारा प्रदान गरिएको विभिन्न प्रजातिका लगभग 50 वटा रुखका विरुवाहरू रोपियो। यस विषयमा नेताजी हाई स्कुलको सह-शिक्षक दिनेश प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा बताएका छन् ।