नयाँ दिल्ली: छुटटै राज्य गोर्खाल्याण्डको मागप्रति सरकारको ध्यान आकर्षण गर्न गोर्खाल्याण्ड संयुक्त संघर्ष समितिले दिल्लीको जन्तर मन्तर मैदानमा आजदेखि धरना प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ। दुई दिवसीय धरना प्रदर्शनको आज पहिलो दिनको कार्यक्रमलाई हाम्रो पार्टीको दिल्ली शाखा चिफ को-अर्डिनेटर रवि दियालीले सम्बोधन गर्दै फत्ते हुन लागिसकेको गोर्खाल्याण्डको आन्दोलनलाई हाम्रै नेतृत्व भनौदाहरूले लथालिङ भताबुङ बनाएका बताए। तिनले भने, गत 2017-मा गोर्खाल्याण्ड आन्दोलनले चरण रूप धारण गरिसकेका थियो तर पहाडको दुई-चारजना नेतृत्व भनौदाहरूले फत्ते हुन लागि सकेको गोर्खाल्याण्डको आन्दोलनलाई लथालिङ भताबुङ बनाएका थिए। दिल्लीको यो जन्तर मन्तर मैदानमा हामीले छुटटै राज्य गोर्खाल्याण्डको लागि बारम्बार माग उठाउँदै आइरहेका छौ तर आजसम्म हाम्रो मागलाई सरकारले सुनवाई गरेको छैन।
सरकार समक्ष हामीले छुटटै राज्य गोर्खाल्याण्डको मागलाई लिएर दस्तावेजहरू पनि सुम्पिसकेका छौ तर पनि हाम्रो मागलाई सरकारले अनदेखा गर्दै आइरहेको छ। देशका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत “गोर्खाको सपना मेरो सपना” भनेकै हो तर आजसम्म मोदीको सपना विपनामा परिणत नभएकोमा दियालीले दु:खेसो पोखे। तिनले अझ भने, छुटटै राज्य गोर्खाल्याण्ड गठनको आशामा हामीले भारतीय जनता पार्टीलाई अहिलेसम्म तीन-तीनवटा सांसदहरू दिइसकेका छौ अनि केन्द्रमा अहिले भाजपा बहुमतको सरकार छ तर पनि केन्द्रको भाजपा सरकारले गोर्खाहरूलाई न्याय दिएको छैन। छुटटै राज्य गोर्खाल्याण्ड प्राप्तीको आन्दोलनमा हाम्रो धेरै सन्तानहरूले प्राणको आहुति दिइसकेका छन् तर आजसम्म त्यसको कुनै मूल्याङ्कन हुन सकेको छैन। गत 2017 को गोर्खाल्याण्ड आन्दोलन फते हुन लागि सकेको थियो तर पहाडको हाम्रै नेतृत्व भनौदाहरूले लथालिङ भताबुङ बनाए,यो हामी सबैलाई थाहा भएकै विषय हो। गोर्खाहरूलाई न्याय दिनु सरकारले किन विलम्ब गर्दैछ भन्दै हाम्रो पार्टीका चिफ को-अर्डिनेटर रवि दियालीले प्रश्न तेर्साएका छन्।