सिलगढी (निसं): “समाजमा सम्प्रेषण हरेक माध्यमबाट भइरहेकै हुन्छ। साहित्यले गरेको सम्प्रेषण युग- युगसम्म रहिरहन्छ। पूर्व सांसद तथा भाषा आन्दोलन सङ्ग्रामी दिलकुमारी भण्डारीले अर्जुन पीयूषकृत निबन्ध सङ्कलन ‘कैरन’-को विमोचन समारोहमा भनिरहेकी थिइन्। मुख्य अतिथिको सम्बोधनमा उनले भनिन्, अहिलेको जियो-पोलिटिकल वातावरणमा हाम्रा लेखकले विशद अध्ययन गरेर लेख्नु पर्ने हुन्छ। लेखकले मिहिनेत गरेर किताब लेखेका हुन्छन्। उनीहरूलाई हाम्रो समाजले सहायता गर्नुपर्ने हुन्छ। हाम्रो भाषा-साहित्यलाई अघि बढ़ाउन स्तरीय कृतिहरू ल्याउन सक्यौँ भने हामीले पाठकहरूको ध्यान खिँच्न सक्छौँ। नयाँ पाठकहरू जन्मिरहेक भन्दै आशावादी सोचले सर्जक समाजलाई अभिप्रेरित गरिन्।
नेपाली भारतीय साहित्यमा विशेष कविता एवं गद्यका विविध विधामा आफ्नो सबल उपस्थिति दर्ता गरिसकेका अर्जुन पीयूषका विचार, समालोचना र दृष्टिकोणहरूको सङ्कलन ‘कैरन’-को लोकार्पण समारोह प्रकाशक बुकएण्टले १७ फरवरी २०२४-को दिन सालबारीस्थित आफ्नो कार्यालयमा आयोजित गरेको थियो। कृति दिलकुमारी भण्डारी, सानु लामा, डी. मोहन पी दाहाल, चन्द्रमाया शर्माको बाहुलीबाट लोकार्पित गरिएको थियो।
सिक्किमबाट आएका समारोह अध्यक्ष वरिष्ठ सर्जक सानु लामाले आफ्नो सम्बोधनमा भने, “नेपालमा सर्जकले लेखेरै जीवन धान्ने समय आएको छ। अब भारतको नेपाली साहित्यमा पनि यस्तै समय आउन आवश्यक छ। भारत-नेपालमाझ नेपाली साहित्यको आदानप्रदानको क्रम थालिनु पर्दछ। निकै अघि बीपी कोइराला फाउण्डेसनले यस दिशामा प्रतिबद्धता जाहेर गरे पनि यस दिशामा अद्यावधि सन्तोषजनक पदक्षेप भएको छैन। करोड़ जनसङ्ख्या भएको नेपाली समाजमा ३ सय, ५ सय किताबका प्रति बिक्नु पनि हम्मे परेको छ। यो गम्भीर सङ्कटतिर सबैले चिन्तन गरेर समाधानार्थ पाइला चाल्नुपर्ने खाँचो छ।”
समारोहमा मङ्पूवासी सर्जक सुभद्रा बम्जनले कृतिकार पीयूषको परिचय राख्दै विमोचत कृति ‘कैरन’-माथि विहङ्गम समीक्षा प्रस्तुत गरेकी थिइन्। उनले भनिन्, “कला समाजका लागि, आम मानिसका लागि हुनुपर्छ। समाजसित सोझै सरोकार राख्ने अति संवेदनशील विषयहरूमाथि सर्जक पीयूषले कैरनको रचना गरेका छन्।”
पीयूषले आफ्नो लेखकीय सम्बोधनमा भने, “रोजीरोटीको खोजीमा जहाँ जहाँ भौंतारिए पनि मेरो जरा नेपाली समाज हो। जबसम्म हामी आलोचनामा ओर्ह्लिँदैनौँ, तबसम्म नौलौ सृजना हुनसक्तैन। कैरनलाई केवल प्रशंसा नगरिदिनुहोला। बरू मेरो कृतिलाई आलोचनाको दृष्टिले हेरिदिनुहोला।”
पीयूषलाई प्रकाशनगृह बुकएण्टको पक्षमा निर्देशकद्वय राजा पुनियानी र सुरज गुरुङद्वारा लेखक प्रमाणपत्र प्रदान गरिएको थियो। सर्जक पीयूषलाई साहित्यिक गोरेटोमा प्रेरित गर्ने माइज्यू चन्द्रमाया शर्मालाई अभिनन्दन जनाइएको थियो।
पद्मश्री सानु लामाको अध्यक्षतामा आयोजित समारोहमा दिलकुमारी भण्डारी मुख्य अतिथि थिइन्। डा. मोहन पी दाहाल,युवरोज काफ्ले ज्ञानेन्द्र खतिवड़ा, युवराज काफ्ले, प्रद्युम्न श्रेष्ठ, सीबी कार्की, पुण्यप्रसाद शर्मा, आईएन शर्मा, मुक्ति उपाध्याय, लतिका जोशी, बबिता मादेन, राधा पाण्डे, भीम ढुङ्गेल, मणिकुमार प्रधान, प्रेम कार्की, डम्बरमणि प्रधान, अशोक प्रशान्त, हेमन्त काफ्ले, गीताश्री शर्मा, कृष्ण बस्नेत, प्रदीप शेर्पा, लक्ष्मण दाहाल, समीर शर्मा जस्ता सिक्किम, दार्जीलिङ, कालेबुङ, सालगढ़ीतिरबाट आएका साहित्यिक हस्तीहरूको बाक्लो उपस्थितिले समारोहलाई सुशोभित तुल्याएको थियो। सुरज गुरुङले स्वागत सम्बोधन राखेको समारोहको सञ्चालन लोकप्रिय उद्घोषिका अनिता निरौलाले गरेकी थिइन्। अर्जुन पीयूष ले चार दशकदेखि साहित्यको प्रवर्द्धनमा अनवरत कलम चलाएका हुन्। प्रगतिवादी धारमा सशक्त कविता र गद्यका लागि चिनिने पीयूषले सम्पादनमा पनि छुट्टै सुनाम कमाएका छन्। नेपाली साहित्यमा अतुलनीय अवदान दिएका विभूतिहरूका कामलाई सकारात्मक कसीमा राख्दै ‘कैरन’ -मा कैरन गरेका छन्। यिनका प्रकाशित पुस्तकहरू ‘समयान्तर’ (निबन्ध, २००५) र ‘समयको पदचाप’ (कविता, २०११) हुन्। पीयूषले ‘नारी-आभा’ (समकालीन नारी लेखन अध्ययन विशेष ग्रन्थ, २०१५), ‘अटल भण्डारी’ (नरबहादुर भण्डारी स्मृतिग्रन्थ, २०१९)), ‘संवाहक’ (ऐतिहासिक विकासक्रममा सिक्किमेली पत्रकारिता) र भानेराप-भागोप सेनानी बमप रचनावली/अभिनन्दन ग्रन्थ (२०२३)-को सम्पादन गरेका छन्। ‘सुनचरी समाचार’, ‘अब’, ‘आजभोलि’, ‘हिमालय दर्पण’, ‘हाम्रो प्रजाशक्ति’, ‘विकल्प’, ‘समय दैनिक’, ‘हिमाली बेला’-जस्ता पत्रिकामा आबद्ध रहेका पीयूष रामपात्रो मेमोरियल अवार्ड (२०१७-१८)-ले सम्मान छन्। क्रान्तिधरा मेरठ साहित्यश्री सम्मान (उत्तर प्रदेश, २०१८) र बोधनाथ-हिमकुमारी लामिछाने स्मृति पुरस्कार (चितवन, नेपालले सम्मानित भएका छन्।