भाषा शिक्षक नियुक्तिबारे मुख्यमन्त्री र शिक्षामन्त्रीले हस्तक्षेप गर्न पर्ने भाजपाको माग

गान्तोक: सिक्किम राज्यमा भाषा शिक्षकहरूको नियुक्तिको निम्ति भाषाप्रेमीहरूले माग उठाउँदै आइरहेको विषयमा भारतीय जनता पार्टीले पनि यस मागको वकालत गर्दै विगत लामो समयदेखि आवाज उठाउँदै आइरहेको दावी गरेको छ। प्राप्त जानकारी अनुसार गत दुई वर्ष अघि राज्यको शिक्षा विभागले प्रथमपल्ट नेपाली, लेप्चा, भोटियालगायतका विभिन्न भाषामा शिक्षक नियुक्ति प्रक्रिया शुरू गरेर फरवरी 2019 मा सम्पूर्ण अन्तर्वार्ताहरू पूरा गरेको थियो। तर नियुक्तिमा ढिलाईका साथै कतिपय असमान नीतिलाई केही व्यक्तिले न्यायालयमा चुनौती दिएपछि उक्त सम्पूर्ण प्रक्रियालाई गत 25 फरवरीको दिन विभागले एउटा अधिसूचना जारी गरेर निरस्त गरेको छ। यसर्थ भारतीय जनता पार्टी सिक्किम राज्य एकाईले भाषाको शिक्षक नियुक्ति सम्बन्धमा राज्यका मुख्यमन्त्री तथा शिक्षामन्त्रीले सोझै हस्तक्षेप गरेर विगतका कमी-कमजोरीहरूलाई पन्साउँदै नयाँ नीति निर्धारण गरेर समस्याको समाधान गरिदिउन् भनी सिक्किम राज्य भाजपा एकाईले माग गरेको छ। वर्तमान शैक्षिक सत्रमा भाषा शिक्षकहरूको नियुक्ति नभएकोले विद्यार्थीहरूले जुन नोक्सानी खप्नुपरेको छ, त्यस कुरालाई ध्यानमा राख्दै चाँड़ै समान नीति निर्धारण गरेर नियुक्ति प्रक्रिया पूरा गरिनुपर्ने आफ्नो पार्टीको माग रहेको राज्य भाजपा अध्यक्ष डीबी चौहानले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *