नक्सलबारी (निसं): नक्सलबारीको बेलगाछी चिया कमानमा बोनस विषय लिएर आज चिया श्रमिकहरूले आन्दोलन गर्दै काम रोके। मालिक पक्षले 18 प्रतिशतको दरले बोनस दिने भएपछि 18 होइन तर 19 प्रतिशतको दरले बोनस दिनु पर्छ भन्ने माग गर्दै आज शुक्रबार नक्सलबारीको बेलगाछी चिया कमानमा कार्यरत् चिया श्रमिकहरूले विरोध प्रदर्शन गरे। वर्षभरि हावा-पानी, बर्खा-झरीमा समेत पर्वाह नगरी काम गरेपछि दुर्गा पुजाको मुखैमा बोनस दिने समयमा कमानको मालिक पक्षले श्रमिकहरूलाई बोनस दिन हिचकिचाउने गरेको यहाँका श्रमिकहरूले गुनासो पोखेका छन्। केही दिनअघि कोलकातामा भएको सीसीपीए-को बैठकमा 19 प्रतिशत बोनस दिने सहमति भए तापनि मालिकले 19 प्रतिशत बोनस दिन नचाहेको यहाँका श्रमिक तथा स्टाफहरूको भनाई रहेको छ। यसको साथै चिया श्रमिकहरुले 19 प्रतिशतको दरले नै आफुहरूलाई पुजा बोनस दिनु पर्ने मागमा आन्दोलन जारी राख्ने मालिक पक्षलाई चेतावनी दिएका छन्।
अर्कोतिर, कोलकाता बैठकमा नभई जलपाइगढीको बैठकमा नै 18 प्रतिशतको दरले बोनस दिने निर्णय गरेको बगान प्रबन्धकको दावी रहेको छ। तथापि उक्त मालिक पक्षको निर्णयसित यहाँका चिया श्रमिकहरू सहमत छैनन्। मालिकले आफुहरूलाई 19 प्रतिशतको दरले बोनस दिनु पर्ने मागमा अडिग रहेर बेलगाछीका चिया श्रमिकहरूले आज काम बन्द गरेको छ । अर्कोतिर, कमानका प्रबन्धक अजित प्रसादले बोनसको दरबारे श्रमिकहरूसँग बसेर छलफल गर्ने बताएका छन्।