सिलगढी : भारतकै सबैभन्दा पुराना उद्योगहरूमध्ये एक, ब्रिटिश साम्राज्यकालदेखि नै सञ्चालित, अनुमानित २६ एकरमा फैलिएको सिन्कोना उद्योग अहिले मरणासन्न अवस्थामा छ। लाखौँ रुपियाँ घाटामा रहेर पनि सरकारले जसोतसो चलाइरहेको छ यसलाई। सन् १८६२ मा मङ्पूबाट शुरु गरिएको सिन्कोना खेतीको प्रकल्प तत्कालीन यसको लोकप्रियता र मागलाई ध्यानमा राखी भारतका अन्य प्रान्तसितै यता पहाड़मा पनि खेती विस्तारण गरिएको पाइन्छ। सन् १९०१ मा मन्सोङ, १९३८ मा रोङ्गो अनि १९४२ मा लाटपञ्चर गरी चारवटा मुख्य बगानभित्र थुप्रै विभागहरू छन्। लगभग ६०-७० हजार जनसङ्ख्या यस उद्योगसित प्रत्यक्ष-परोक्ष आश्रित छन्। सिन्थेटिक पद्धतिमा तयार कुइनाइनजस्ता सिन्कोनाका वैकल्पिक औषधिहरू बजारमा सस्तो दाममा निस्कन थालेपछि यसको मागमा असर पर्न थालेको जानिफकारहरू बताउँछन्। सिन्कोना खेतीसितै एपिकेक, डायस्कोरियालगायत अन्य विविध औषधीय वनस्पतिहरू लगाएर यस उद्योगलाई बचाउने प्रयत्न भयो। त्यसले पनि नभएर नगदे बालीहरू जस्तै अलैँची, अदुवा, सुन्तला, कफी, किवी, चिराइतो, कुचो, बाँस, रबर इत्यादि लगाएर आम्दानी बढ़ाउने प्रयत्न गरिँदै आएको छ। तर यी सबै उपायहरू दीर्घगामी छैनन्। सबै उपाय विफल हुँदै आइरहेका छन्। यस्तैमा राष्ट्रिय हितलाई ध्यानमा राखेर सिन्कोनाको अधीनमा भएका जग्गाहरू जलविद्युत परियोजना, आर्मी, एसएसबी, पुलिसलगायत कतिपय सरकारी एजेन्सीहरूलाई दिइने काम भइरहेको छ। यसैअन्तर्गत गत केही महिनादेखि विशेष रोङ्गोका पुराना ब्रिटिशकालीन कटहरका रुखहरू ग्रेफले बाटो बनाउने निहुँमा भग्रेल्तै ढाल्ने काम गरिरहेको छ। यसले सिन्कोनाको मालिकाना हकमाथि गतिलो प्रश्न उठेको छ। सड़क बनाउने र रुखहरू काट्ने अनुमति दिने काम फरेस्टबाट भएको बुझिएको छ। जबकि उक्त बोट-बिरूवाको रोप्ने र संरक्षण गर्ने काम सिन्कोना विभागले गरिल्याएको स्पष्ट छ।
विशेष रोङ्गो सिन्कोना बगान पूर्णरूपले फरेस्टको जग्गालाई लिजमा लिएर चलाएको बुझिन्छ। सन् १९३७ को Memo No.22591-cin. Dated Calcutta 13th /14th Dec. 1937, सन् १९५५ को, Memo No. 8434/IF-15 Dated 23/07/1955, Memo No. 4352 9M)/175 dated Mungpoo, 28th June 1979 आदि सरकारी कागज पत्रहरूले के स्पष्ट पार्छ भने फरेस्टबाट जग्गा लिएपछि यसको पूर्ण अधिकार सिन्कोना विभागमा थियो। तर अचानक सन् १९१८ देखि भने या क्षेत्रको मालिकाना फरेस्ट विभागसँग रहेको देखापर्दैछ। यदि यसो हो भने बगानको लिज सकिएको नोटिफिकेसन खोइ? बगानलाई पहिले वाणिज्य अनि उद्योग Commerce And Industries Department ले चलाइरहेको थियो। पछि सन् २००६ देखि Food Processing Industries and Horticulture Department ले चलाइरहेको छ। अहिले फरेस्टले कुन आधारमा बगानमा आफ्नो हस्तक्षेप जनाइरहेको छ। कतिपय चुक्तिहरूले पनि के भनेको छ भने सम्झौता रद्द भएर पनि कम्तीमा तीन वर्ष फरेस्टले बगानको उत्पादहरूमाथि आफ्नो अधिकार नजनाउने स्पष्ट उल्लेख गरेको छ। तर अहिले बगान चलिरहेकै बेला यसरी बगानको उत्पादनमाथि आँखा गाड़ेको स्थानीय जनतालाई पटक्क पचेको छैन। यसरी रोङ्गो विभागमा अन्योल छाइरहेको बेला वर्तमान जीटीए कार्यपालिकाभित्र पनि खैलाबैला छाएको छ। सिन्कोना उद्योगलाई हाल जीटीएको कार्यक्षमताभित्र हालिएको छ। निर्देशक सामुएल राईबाट पनि यसमाथि सकारात्मक उत्तर नपाइएको जानकारी प्राप्त भएको छ। भर्खरै एक अनलाइन संवादमाध्यमले लिएको एक अन्तर्वार्तामा त राईले यस मामिलामा आफ्नो अनभिज्ञता रहेको स्पष्ट खुलाएपछि त झन् सिन्कोनावासीमा एक प्रकारको असुरक्षाबोध एवं रोष छाएको छ। आफ्नो गाँस, बास र कपासको स्रोत सिन्कोनामाथि छाएको सङ्कटले क्षेत्रवासी त्रस्त भइसकेका छन्। आज मरेको लाश जलाउने काठ समेत नपाउने भएको छ। लाश गाड्ने जग्गा पाउन छोड्ला। भोलिको दिनमा फरेस्टले सिन्कोना बगान बन्द गर्ने घोषणा गरे जनता कता जाने? के गर्ने? एउटा ठूलो प्रश्न खड़ा भएको छ।
श्रमिक, कर्मचारीसितै यहाँका अधिकारीहरू समेत अन्धकारमा रहेको हुन सक्ने आशङ्का राख्दै अग्रज श्रमिक नेता एल.एम. शर्माले विस्तारै सिन्कोना उद्योग बन्द गर्ने सरकारको चाल रहेको हुन सक्ने बताएका छन्। अब जनता सचेत बनेर आफ्नो अधिकारका निम्ति अघि आउनु पर्ने जनाउँदै भोलि हामी पनि शरणार्थी बन्न सक्ने अवस्था आउने कुरो उनले बताएका छन्। सिन्कोना हाम्रो वासभूमि हो यसको संरक्षणका निम्ति हामी नै लागिपर्नु पर्ने जनाउँदै सिनियर अधिवक्ता सुदास राईले क्षेत्रमा ‘सिन्कोना बचाऊँ अभियान’ थालिसकेको उनले थप जनाए। अभिभावक एल. एम. शर्माको मूल संयोजकत्वमा समाजसेवी पुरण छेत्री, पत्रकार मनोज बोगटी, साहित्यकार जय क्याक्टस, प्रधान अध्यापक पदम सुवेदी, सुवास राईलगायत समाजका हरेक तप्काका सचेत नागरिकहरू यो अभियानमा सक्रिय भइसकेको जनाउँदै निकट भविष्यमा हरेक राजनैतिक पार्टी, समाजसचेतक, बुद्धिजीवीलगायत देशभरिका विषय विशेषज्ञहरू निम्त्याई एक बृहत् सेमिनार आयोजन गर्ने संयोजक जय क्याक्टसले जानकारी दिएका छन्।