खरसाङ (निसं): आकाशवाणी खरसाङमा डा. भीमराव अम्बेडकरको 132 औँ जन्म जयन्ती आज पालन गरियो। आकाशवाणी परिवारले प्रत्येक वर्ष डा. भीमराव अम्बेडकरको जन्म जयन्ती पालन गर्दै आइरहेको छ। यसैक्रममा यसपाली 132 औँ जन्म जयन्ती पनि आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेको विशेष उपस्थितिमा पालन गरियो। कार्यक्रमलाई सञ्जय रावतले सञ्चालन गरेका थिए। कार्यक्रममा उपस्थित आकाशवाणी खरसाङको अधिकारीहरूले डा. भीमराव अम्बेडकरको तस्वीरमा खदार्पणसहित धुप दीप प्रज्वलन गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो। कार्यक्रममा आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आलेले डा. भीमराव अम्बेडकरको विषयमा छोटकरीमा बताउँदै अम्बेडकरको 132 औँ जन्म जयन्तीको अवसरमा सबैलाई शुभकामना व्यक्त गरे। कार्यक्रममा आकाशवाणी खरसाङको ट्रान्समिशन एक्जीक्युटिभ मिङ्कमा दोर्जे लामा, अभियान्त्रिकी विभागबाट राजीव सुब्बा, सचिन लोहागण, समाचार विभागबाट निर्मल गुरुङलगायत भोला रावत र अन्यहरू उपस्थित रहेका थिए। डा. भीमराव अम्बेडकर जयन्ती पालन गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै आकाशवाणी खरसाङको अभियन्त्रिकी विभागका राजीव सुब्बाले विस्तृत जानकारी गराएका छन्।