सिलगढी : ऋण लिएर जुवा खेल्दा रुपियाँ हारेपछि सिक्किम निवासी एकजना व्यक्तिलाई रुपियाँ दिने दबाउ दिएपछि तिनलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा प्रधान नगर पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि 4 दिनको पुलिस हिरासतमा पठाएको छ। पक्रा परेका व्यक्तिको नाम राहुल गुप्ता बताइएको छ। प्राप्त जानकारी अनुसार गत 22 फरवरीमा सिलगढीको ब्लु माउन्टेन रिसोर्टमा पोकर गेम खेल्नको लागि राहुल गुप्ता लगायत तीनजना व्यक्तिले सिक्किम निवासी तेन्जिङ लेन्डुपलाई बोलाएका थिए। त्यहाँ जुवा खेल्दा तेन्जिङले लगभग 23 लाख रुपियाँ हारेका थिए। राहुल गुप्ता लगायत 3 जनाले तेन्जिङमाथि रुपियाँ दिने दबाउ दिएको आरोप रहेको छ। यसपछि अन्तमा बाध्य भएर तेन्जिङले आत्महत्या गरेको बताइएको छ। घटनाको जानकारी पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि पठाएको थियो। उक्त घटनापछि मृतककी स्वास्नीले गत 3 मार्चमा प्रधान नगर थानामा एउटा लिखित अभियोग दर्ता गरेकी थिइन्। एफआईआरमा उल्लेख गरेर अनुसार सिलगढीको ब्लु माउन्टेन रिसोर्टमा तिनको लोग्नेलाई जुवा खेल्नको लागि बोलाएको थियो। त्यस अवधि तिनले जुवामा धेरै रुपियाँ हारेपछि राहुल गुप्ता लगायत 3 जना व्यक्तिले लोग्नेमाथि रुपियाँ फर्काइदिने दबाउ दिन थालेका थिए। यसपछि लोग्ने तेन्जिङको शव ब्लु माउन्टेन रिसोर्टबाट उद्धार गरेको थियो। घटनाको जाँच अवधि पुलिसले फोरेन्सिक टीमलाई बोलाएर घटनास्थलबाट केही नमुना संग्रह गरेको थियो। घटनाको 6 महीनापछि प्रधान नगर पुलिसले राहुल गुप्तालाई हिजो सिलगढीको नयाँ बजारबाट पक्राउ गर्यो। पुलिसले अन्य 2 जना व्यक्तिको खोजी शुरू गरेको छ।