खरसाङ (निसं) : आगामी जीटीए चुनाउको लागि तीनधारे महानदी समष्टिबाट आज तीनजनाले निर्दलीय प्रार्थीको रुपमा नामाङ्कन पत्र बुझाएका छन्। तीन जनामा गोजमुमोको पूर्व समष्टी सभापति आइतमान राई र पूर्व समष्टी सचिव सुरेशचन्द्र दर्नाल रहेका छन् भने सत्यवान छेत्रीले पनि तीनधारे महानदी समष्टिबाट निर्दलीय प्रार्थीका रुपमा आफ्नो नामाङ्कन पत्र भरेका छन्।
तीनैजनाले आज खरसाङ महकुमा शासक कार्यालयमा पुगेर आफ्नो नामाङ्कन पत्र भरे। अर्कोतिर, आज नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट तीनधारे महानदी समष्टिबाट नवराज छेत्रीले पनि आफ्नो नामाङ्कन पत्र भरेका छन्। त्यसैले तीनधारे महानदी समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एकजना र तीनजना निर्दलीय प्रार्थीहरू लगाएर अहिलेसम्म जम्मा चारजना चुनाउ मैदानमा उत्रेका छन् भने भोलि 3 जुनको दिन हाम्रो पार्टीको प्रार्थी लगायत अन्य निर्दलीय प्रार्थीहरूले पनि नामाङ्कन पत्र बुझाउने सम्भावना रहेको छ।