सिलगढी : जस्टिस फर अभया कोर्डिनेसन कमिटीद्वारा अपील गरिएअनुसार आज हालै सिलगढीको मतिगढामा भएको नाबालिक छात्रा हत्याकाण्डको आरोपीलाई चाँडोभन्दा चाँडो फाँसीको सजाय हुनुपर्ने साथै मृतक छात्रा अभया (परिवर्तित नाम)-को आत्मशान्तिको कामना गर्दै सिलगढी लगायत यसको संलग्न क्षेत्रहरूका विभिन्न स्कुलहरूमा मौन बत्ती जलाए। प्राप्त जानकारी अनुसार आज बिहान स्कुल लाग्न अघि सिलगढीको कल्याणी नेपाली हायर सेकेन्डेरी स्कुलमा मृतक छात्राको आत्म शान्तिको कामना गर्दै स्कुलका प्रधान अध्यापक लगायत सबै शिक्षक-शिक्षिकाहरू तथा विद्यार्थीहरूले मौन बत्ती जलाए। यसको साथै छात्रा हत्याकाण्डमा पक्रा परेका आरोपीलाई फाँसीको सजाय हुनुपर्ने माग पनि गरे।
यसै क्रममा सालगुढा नेपाली हाई स्कुल, रविरत्न ढुङ्गाना स्कुल, आईबी थापा स्कुल, कृष्णमाया स्कुल, नेपाली हाई स्कुल नक्सलबारी, दुलालजोत नेपाली हाई स्कुल, धिमाल नेपाली प्राइमेरी स्कुल, नेपाली कल्याण प्राथमिक पाठशाला आदि स्कुलहरूमा पनि आज बिहान प्रार्थना सभाअघि स्कुलका शिक्षक-शिक्षिकाहरू अनि विद्यार्थीहरूले मौन बत्ती जलाएर मृतक छात्रा अभया-को आत्मशान्तिको कामना गर्नको साथै हत्याको आरोपीलाई फाँसीको सजाय हुनुपर्ने माग गरे।