कोलकाता : राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीको निमन्त्रणामा आज राज्यका राज्यपाल जगदीप धनकडले कोलकातास्थित राजभवनमा मुख्यमन्त्रीसित भेट गरे। यस अवसरमा राज्यपालसित तिनकी धर्मपत्नी श्रीमती सुदेश धनकड पनि उपस्थित थिइन्। भेटघाट अवधि राज्यपाल अनि मुख्यमन्त्रीमाझ लगभग आधा घण्टासम्म राज्यको विभिन्न विषयहरूलाई लिएर सकारात्मक कुराकानी भएको बताइएको छ। तथापि, उक्त भेटघाट अवधि कुनै पनि प्रशासनिक अधिकारीहरू साथमा उपस्थित नरहेर केवल मुख्यमन्त्री र राज्यपाल माझमा मात्र कुराकानी भएको जानकारी प्राप्त भएको छ। पश्चिम बंगालका राज्यपाल अनि मुख्यमन्त्रीमाझ गत केही समय अघिदेखि देखा परेको मनमुटाउलाई पर सारेर आज भएको भेटघाटपछि राज्यपाल धनकड खुबै हर्षित मुद्रा देखिए। तिनले मुख्यमन्त्रीसितको कुराकानी खुबै सौहार्द्रपूर्ण तथा फलदायी रहेको बताएका छन्।