सिलगढी : नेपालका चर्चित उद्योगपति, राजनीतिक सचेतक तथा गरिबहरूको दुखको साथीको रूपमा चिनिएका अति नै सम्मानीय व्यक्ति दुर्गा प्रसाइँलाई आज सिलगढीमा एउटा कार्यक्रमबीच भव्य सम्मान जनाइयो। सिलगढीको एउटा प्रतिष्ठित होटलमा सम्पन्न कार्यक्रममा आज मङ्गल माइती पब्लिक चेरिटेबल ट्रस्ट दार्जिलिङ ट्रक स्ड्यान्ड दार्जिलिङ मोडको तर्फबाट तिनलाई सम्मान गरियो। नेपालका एक महान समाजसेवी दुर्गा प्रसाईले बिर्तामोडमा आर्थिक रुपले कमजोर परिवारका रोगीहरूको निःशुल्क रूपमा सेवाको निम्ति पूर्वाञ्चल क्यान्सर अस्पताल निर्माण गरेर महान कार्य गरेका छन्। यसका साथै तिनलाई एकजना राजनीतिक सचेतकको रूपमा पनि चिनिन्छ। यस अवसरमा मुख्य अतिथिका रूपमा सिक्किमका डा. सरला लामा थिइन् भने अन्य विशिष्ट अतिथिका रूपमा सिक्किमका पूर्व स्पीकर केएन राई, सिक्किमका पूर्व स्वास्थ्य मन्त्री एमके शर्मा, प्रशासनिक शीर्ष पदाधिकारीगण, पूर्व एडीएम गोपाल लामा, उत्तरबंग विश्वविद्यालयका प्राध्यापक डा. कृष्णराज घतानी आदि उपस्थित थिए। आजको कार्यक्रममा आयोजक समिति मङ्गल माइती पब्लिक चेरिटेबल ट्रस्टका सचिव राम छेत्रीले उपस्थित सबै अतिथिगणलाई न्यानो स्वागत जनाउँदै स्वागत सम्भाषण राखेका थिए। यसैगरी, कार्यक्रमलाई सम्मानित व्यक्ति दुर्गा प्रसाइँ लगायत सिक्किमका पूर्व स्पीकर केएन राई, सिक्किमका पूर्व स्वास्थ्य मन्त्री एमके शर्मा, डा. सरला लामा, नेपालबाट आएका क्यान्सर रोगका चिकित्सक आदिले सम्बोधन गरे।