कालेबुङ (निसं): सिस्टमको कुरा गर्नेले नै अहिले सभासदहरू थुत्ने काम गर्दैछ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आरोप लगाएका छन्। एडवार्डस आज कालेबुङ आइपुगेपछि तिनले गत केही दिन अघि कालेबुङको रौसेमा भएको अग्निकाण्ड पिडित परिवारका सदस्यहरूसित भेट गरे। यस अवधि तिनले पिडित परिवारका सदस्यहरूसित कुराकानी गर्नको साथै आर्थिक सहयोग पनि प्रदान गरे। दार्जीलिङको विभिन्न ग्रामीण क्षेत्रमा भएको आगलागीमा पर्ने पिडित परिवारका सदस्यहरूसित पनि आफुले भेट गरेर केही आर्थिक सहयोग पुऱ्याएको अनि खरसाङमा भएको अग्निकाण्ड स्थलमा पनि भोली अथवा पर्सी आफु स्वयम् जाने एडवार्डसले बताए। हाम्रो पार्टीका सभासदद्वय प्रमोस्कर ब्लोन र भूपेन्द्र छेत्रीको सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा पार्टी अध्यक्ष अजय एडवार्डसले भने, यी दुई सभासदलाई आफुले आफ्नो पक्षबाट व्याक्तिगत रूपमा विदाई दिइसकेको छु तर यस विषयमाथि पार्टीले शीघ्र बैठक डाकेर निर्णय लिइनेछ। पहाडमा सिस्टमको कुरा गर्नेले नै यी सभासदहरूलाई पैसा, चैकी अनि पावरको प्रलोभन देखाएपछि तिनीहरूले पार्टीको जरा काट्ने काम गरेका थिए भनी एडवार्डसले गम्भीर आरोप लगाए। सभासद उम्मेद्वारको चयनमा आफुबाट ठूलो भूल भएको बताउँदै तिनले यसको लागि दार्जिलिङको जनतासित माफी पनि मागेका छन्। राजनीतिको मैदानमा आफु नौलो भएको हुनाले आफुबाट केही गल्तीहरू भएको कुरालाई तिनले स्वीकार गरे। यसैगरी, दार्जिलिङ, खरसाङ, कालेबुङ र मिरिक नगरपालिकामा पनि धेरै समस्या रहेको अध्यक्ष एडवार्डसले बताए। विशेष गरेर प्राकृतिक प्रकोप आदि जस्ता घटनाहरू घटेको समयमा दमकल विभागको गाडीहरू जाने राम्रो बाटोको ब्यवस्था नरहेको तिनले बताए। दार्जीलिङ नगरपालिका क्षेत्रको यस्तो अवस्थामाथि सरकारको ध्यान आकर्षण गराउँदै कार्य योजनाको सूची सरकारसमक्ष पठाउने काम गरिसकेको तिनले बताए। त्यसरी नै पहाडको अन्य नगरपालिका क्षेत्रहरूको निम्ति पनि कार्य योजनाको सूची सरकार समक्ष पठाउनु अति नै अनिर्वाय रहेको हाम्रो पार्टी अध्यक्ष एडवार्डसले बताए। आगामी कालेबुङ नगरपालिका चुनाउमा हाम्रो पार्टी-ले समाजसेवी, बुद्धीजीविहरूसँग सम्पर्क गरेर चुनाउ मैदानमा ओर्लिने तिनले सङ्केत दिएका छन्। अन्तमा, जनताको सेवा कार्यलाई जारी राख्ने साथै दार्जिलिङको पार्वतीय क्षेत्रमा हाम्रो पार्टीले जनताको राज ल्याएरै छोडने छौ भनी तिनले किटान गरे।