खरसाङ (निसं): प्राथमिक शिक्षाको लागि आज तीनधारे सर्कल सप कार्यालय उद्घाटन गरियो। जीटीएको डेपुटी चेयरम्यान राजेश चौहान र तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीको बाहुलीबाट उक्त सर्कल सप कार्यालयको उदघाट्न गरियो। तीनधारेको होटल गैरी नजिक उक्त सर्कल कार्यालय उद्घाटन कार्यक्रममा जीटीएका डेपुटी चेयरम्यान राजेश चौहान, तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्री, प्राथमिक शिक्षा एआई सृष्टि गोमदेन, प्राथमिक शिक्षा बोर्डका सदस्या शान्ता तामाङ, तीनधारे सर्कल कमिटीका सचिव अभिजीत योञ्जन, केन्द्रीय सदस्या अनुराधा चाहार, घैयाबारी ग्राम पञ्चायत तीनधारेको पञ्चायत समितिका सदस्य साजन दर्जी लगायत तीनधारे क्षेत्रका प्राथमिक शिक्षक शिक्षिकाहरू, भूतपूर्व शिक्षक शिक्षिकाहरू उपस्थित थिए।
तीनधारे र यसको वरिपरि क्षेत्रका प्राथमिक पाठशालाहरू तथा शिक्षक-शिक्षिकाहरूको लागि तीनधारेमा तीनधारे सर्कल कार्यालयको पुजा अर्चनाको साथमा उद्घाटन गरियो। उक्त कार्यालय उद्घाटन भएपछि यस क्षेत्रका प्राथमिक पाठशालाका शिक्षक शिक्षिकाहरूलाई खरसाङ जानुपर्ने झञ्झट नहुने बताइएको छ। उक्त कार्यालय उद्घाटनपछि क्षेत्रीय सभासद नवराज छेत्रीले जीटीएको डेपुटी चेयरम्यान राजेश चौहानलाई धन्यवाद दिँदै कार्यालयमा चाहिने प्रिन्टर सहयोग गर्ने वचन दिएका छन्।