मिरिक (निसं): मिरिक महकुमाको डुप्टिन स्वास्थ केन्द्रका रोगी कल्याण समितिका चेयरम्यान सोबन घिसिङले डुप्टिन स्वास्थ केन्द्रको स्थलगत भ्रमण गर्नको साथै स्वास्थ केन्द्रका डाक्टर अनि कर्मचारीहरूसित एउटा सभा गरेर तिनीहरूको अभाव र समस्या बारे जानकारी लिएको बताइएको छ। डुप्टिन स्वास्थ केन्द्रमा विशेष गरेर मिरिक बस्ती क्षेत्रका मानिसहरूले स्वास्थ्य सुविधा प्राप्त गरिरहेको जानकारी प्राप्त गर्नको साथै भ्रमण अवधिमा देखा परेको समस्याहरू बारे सम्बन्धित उच्च अधिकारीहरूसित चर्चा गरेर समधान गर्नका लागि प्रयास गरिने सोबन घिसिङले बताएका छन्। तिनले स्वास्थ नै मानिसको सबैभन्दा ठूलो धन हो भन्दै स्वास्थ सेवा राम्रो हुनु पर्ने अनि रोगीहरूलाई सही समयमा उचित चिकित्सा सेवा उपलब्ध गराउन सरकार पक्ष अनि स्वास्थ विभागले पनि सक्रिय कार्य गरिरहेको बताए।