सिलगढी (निस): पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा कालेबुङ मेला ग्राउन्डबाट घोषणा गरे अनुसार जीटीए प्रमुख कार्यपाल अनित थापाले चियाकमानवासीको सम्पूर्ण जमीनको पट्टाको मांग गर्दै पश्चिम बङ्गाल सरकारका मुख्य सचिव एचके दुवेदीलाई पत्राचार गरेका छन्।
राज्य सरकारको मुख्य सचिवलाई पट्टा विषयमा सरकारी अधिसूचना कमानवासीको आकांक्षा विपरित रहेको अवगत गराउँदै तिनीहरूको अधीनमा रहेको सम्पूर्ण जमीनको पट्टाको मांग गर्दै तिनले पत्र लेकेका छन्। तिनले पत्रमा भनेका छन्, पहाडका कमानवासी 5 डेसिमल घडेरी पट्टा दिने सरकारी अधिसूचनासँग सन्तुष्ट छैनन् । भारत स्वतन्त्र हुनु अघि देखि नै हामी यहाँका रैथाने हौं। कैयौं वर्षदेखि कमानवासीले आफ्नो रगत अनि पसिनाले यहाँको माटो सिञ्चेका हुन। यहाँका रैथानेहरूले कृषि, बागवानी लगाएर पनि आफ्नो जीविका उपार्जन गर्दै आइरहेका छन्। त्यसैले कमानवासीले सम्पूर्ण जमीनको पट्टा पाउनु पर्छ भनी अनित थापाले पत्रमा मांग गरेका छन्।