सिलगढी : प्रधानमन्त्री नरेन्द्र मोदीको परिकल्पना “मेरो माटो, मेरो देश”-ले भारतको माटो अनि वीरताको उत्सव मनाउँछ। यो राष्ट्रद्वारा हासिल गरिएको स्वतन्त्रता अनि प्रगतिको उत्सव मनाउने कार्यक्रम हो र यसले हाम्रा स्वतन्त्रता सङ्ग्रामीहरू, हाम्रा वीर सैनिकहरू अनि उनीहरूका परिवारका सदस्यहरूलाई सम्मान गर्छ भन्दै आज दार्जिलिङका सांसद तथा भाजपा राष्ट्रीय प्रवक्ता राजु विष्टले यस कार्यक्रम अन्तर्गत ताराबारी, नक्सलबारीका कारगिल सहिद सुरेश छेत्रीको घरबाट माटो संकलन गरे। यस अवसरमा तिनले भने, यो हाम्रो लागि गर्वको कुरो हो कि भारतभरिबाट सङ्कलित माटोहरूमा, हाम्रा क्षेत्रका कारगिलका सहिद सुरेश छेत्रीको घरबाट सङ्कलित पवित्र माटो पनि यस ऐतिहासिक क्षणको एक हिस्सा हुनेछ।
यसले हाम्रा वीर गोर्खा सहिदहरू, उहाँका परिवारजन अनि हाम्रो क्षेत्रबाट पवित्र माटोलाई सम्मानित गर्नेछ। माटोसँग जोड़िएर अनि हाम्रा नायकहरूलाई सम्मान गरेर, यस कार्यक्रमले राष्ट्रीय गौरवको भावना जगाउँछ र यसले भावी पुस्तालाई भारतको बहुमूल्य सम्पदाको संरक्षण गर्न उत्प्रेरित गर्छ। सांसद विष्टले बताए अनुसार देशका सबै भागहरूबाट युवा स्वयंसेवकहरू अनि जनसाधारणले गाउँ-गाउँबाट माटो सङ्कलन गर्नेछन्, विशेष गरेर बहादुर सहिदहरूका घरबाट माटो सङ्कलन गर्नेछन्, भारतभरिका विभिन्न गाउँहरूबाट सङ्कलित माटोका कलशहरूलाई राष्ट्रीय राजधानीमा लगिने छ अनि दिल्लीको अमृत वाटिकामा राखिने छ।