सिलगढी: विगत वर्षहरूमा झैँ यस वर्ष पनि सिलगढी सहरमा नेपाली-गोर्खा संघ संस्थाद्वारा अति भव्य रूपमा फुलपाती शोभायात्रा निकालिइयो। सिलगढी फुलपाती शोभायात्रा समिति तथा भानुभक्त समितिको आयोजनामा आज सिलगढी रविरत्न ढुङ्गाना स्कुल प्राङ्गणबाट विभिन्न झाँकीहरूको साथमा विभिन्न संघ-संस्थाका सदस्यहरूले आ-आफ्नो संस्थाको ब्यानरहरूको साथमा नाँच्दै-गाउँदै सिलगढी सहरको परिक्रमा गरेपछि अन्तमा पुनः रविरत्न ढुङ्गाना स्कुल प्राङ्गणमा पुगेर समापन गरियो।
यसपछि आयोजक समितिको तर्फबाट विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि आयोजना गरियो। यस वर्षको 32औँ फुलपाती शोभायात्रामा नेपाली सांस्कृतिक बाजा-गाजाको साथै पाइप ब्यान्डले विविध सांस्कृतिक प्रस्तुति गर्यो भने आजको शोभायात्राको प्रमुख आकर्षणको केन्द्र याक डान्स तथा विभिन्न झाँकीहरूको प्रस्तुति रहेको थियो। सिलगढी फुलपाती शोभायात्रामा प्रत्येक वर्ष नै सिलगढी सहर लगायत यसका संलग्न क्षेत्रका विभिन्न संघ-संगठनका सदस्यहरूले नेपाली जातिको भेषभूषा लगाएर एकै ठाउँमा भेला भएर फुलपाती शोभायात्रा अति भव्य रूपमा मनाउँदै आइरहेको भानुभक्त समितिका सचिव कृष्णा लामाले बताए।